प्रतिक्षित नेपाली चलचित्र बुलाकीको प्रदर्शन मिति स¥यो, अव फागुन १९ मा आउने

प्रतिक्षित नेपाली चलचित्र बुलाकीको प्रदर्शन मिति तीन महिना पछि सरेको छ । यसअघि कार्तिक १८ लाई यो चलचित्रको प्रदर्शन मिति तोकिएको थियो । अब यो फिल्म फागुन १९ मा प्रदर्शनमा आउनेछ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै तीन महिनापछि मात्रै फिल्म रिलिज हुने जानकारी गराएको हो । सरकारले मंसिर ४ मा प्रदेश तथा संघीय निर्वाचनको मिति तोकेपछि फिल्मको प्रदर्शनमा पर्ने संभावित असरलाई ध्यानमा राखेर प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ ।

लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ले मुख्य रुपमा पश्चिम नेपालको कर्णालीमा हालसम्म पनि यथावत रहेको ‘जारी प्रथा’को कथा बोलेको बताइएको छ । केन्द्रीय पात्रको रुपमा रहेकी अभिनेत्री सुरक्षा पन्तको वरीपरी नै फिल्म घुम्नेछ । फिल्मको सम्पुर्ण छायांकन पश्चिम नेपालको जाजरकोट, रुकुम पश्चिम र डोल्पामा गरिएको अभिनेता विराज विष्टले जानकारी दिए ।

स्वर्गीय मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्ट निर्माता रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट प्रमुख भूमिकामा छन् । यहि फिल्मबाट सरस्वती खत्रीले ठुलो पर्दाको अभिनयमा डेब्यू गरेकी छिन् । खत्री दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् । साथमा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई पनि देख्न सकिनेछ ।

शिव ढकालले खिचेको फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत समावेश छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले फर्स्टलुक पोस्टर रिलिजबाट नै चर्चा बटुलेको थियो । दर्शकहरु यस चलचित्रको तिब्र प्रतिक्षामा छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलवार १४:०१