पात्रहरु

प्रिय ! भगवान् र पुस्तक कहाँ र कतिखेर भेटिन्छन् यु नेभर नो – तक्लु उर्फ नगरकोटी उवाच । तर प्रिय किताब मात्रै होइन किताबका पात्र पनि कतिबेला र कुन ठाउँमा भेटिन्छन् प्रिय यु नेभर नो । म धेरै पुस्तक का धेरै पात्रसँग धेरै ठाउँमा धेरैपटक भेटिएको छु । मलाई धेरै पात्रहरुले पछ्याएका छन् । उसो त म उपन्यास कथा कविताका पात्रहरुसँग धेरै प्रेम गर्ने व्यक्ति होइन त्यसैले पो हो कि उनीहरुले पछ्याउने ?

एकदिन तेर्सापट्टि मा बाहुबली–२, फिल्म श्रीकृष्ण हलमा हेरेर फर्कँदा पालिखे चोकको साँघुरो गल्लीबाट यस्सो दायाँ फर्केर गैह्रापाटन पट्टि जान लागेको त एक्लै लिखापानी आइपुगेकी जयमाया सँग केशवराज पिंडाली –‘ खै खै ’ भनेको झोंकमा रिसाइराखेका रैछन् । बरा भोकि मैली निन्याउरी भनेर सिताको चित्रण रामायणमा हाम्रा आदिकवि भानुभक्त ले गरेपनि त्यसको सफल उदाहरण भने जयमाया मा थियो । नजिकै गएर लेखक ज्यूलाई नमस्ते टक्र्याएं । बुढा फेरि झोक्किए – हेर्नुस् पृथ्वी जी जसले पनि खै खै भनेर हैरान् पारे, हुँदाहुँदा यो आइमाइले समेत खै खै ? बुढाले नाकका टोप्रा बेस्मारी फुलाएर एक झोंक्का कार्वनडाइअक्साइड छाडे । मतिर फर्केर एक सर्को चुरोट स्वाट्ट पारे । जयमायाले पुलुक्क मलाई हेरि, अनि मैले भने लेखक ज्यू यो जयमायाले त खै खै बाटो पाउँ न भनेकी पो हो त तपाईं यसै झोक्किनुभएछ । बुढा त झन् आगोमा घ्यू थपेजस्ता पो भए , तर पनि सम्हाँलिँदै भने पृथ्वी जी तपाई चिनेजानेको आफ्नै मान्छे भएर मात्रै माने नत्र त …….. । ढाले जयमाया तिर फर्केर रजनीकान्त स्टाइलमा सरी भनि सिध्याउँदा म अगाडी बढेँ ।

बहुदल मा कपाल काट्दा थोरै पैसा लाग्छ भनेको थाहा पाएर लक्ष्मी बुढाले कल्पना गरेको अनङ्ग नामको पात्र त्यहीं गैह्रापाटनमा बहुदल केश कर्तनालयमा देखापर्यो । म पनि सस्तोमा कपाल सफाचट पारौँ भनेर छिरेको अनङ्ग ले देखिहाल्यो । अनि सोध्यो :– पृथ्वी जी के छ ? अनि के चल्दैछ आजकल ? मैले ठिकै छ भन्ने जवाफ तेर्साएँ । अनि अनङ्ग स्पीकिङ्ग – हेर्नु न पृथ्वी जी लक्ष्मी बुढाले मलाई कल्पनामा कैद गरेर यस्तो अवस्थामा फ्रि गरे यार । सुलोचना नी पाईएन, जीवनमा दुःख मात्रै पाइयो, बुढाले मलाई ल्याङ् पारामा दि इण्ड गराइदिए यार । मैले भनेँ – भो यार योगी जी छाडिदिनुस् हाम्रा महाकवि हुन्, दुनियाँदेखि सफाचट भैसके गाली नगरम् । अनङ्गको कपाल काटेपछि त उ हिरो देखियो । अनि अब कता भनेको – विन्ध्यवासिनी मन्दिरमा कृष्णलीला छ त्यतै भन्ने जवाफ दिएर कर्मयोगी झैँ फट् भैहाल्यो ।

कपाल चैट् पारेर आर्य अनुहार लिएर यसो पन्थी डेरी छिरेको ९ नं टेबिलमा मिस्टिका रैछे । मलाई देखेर लस्सीमा गाडेको पाईपबाट मुख हटाएर फिस्स हाँसी । आफ्नो लेखक नगरकोटी जस्तो मानेर हो कि भनेर म नकराई ८ नं टेबिलमा बसेँ तर अब उसले मुखै फोरी ‘अरे यार पृथ्वी जी किन नचिने जस्तो गर्या के ?’ । यति भनेपछि त म ९ नं टेबिलमा बस्न बाध्य भएँ । अनि मिस्टिका तिम्रो जन्मदिनमा जन्मेको छोरो खोइ त ? भनेर मैले सोध्दा मिस्टिका ले भनि – ए त्यो लम्फु ? अरु कसैलाई गर्भाधान गराउँदै होला हो पृथ्वी जी । गोपालप्रसाद रिमाल को ‘प्रति’ पढेपछि उ यस्तै कार्यतिर व्यस्त छ । अनि फेरि सोधेँ यो नौ नम्बर कै टेबिलमा किन बस्या मिस्टिका ? पृथ्वी जी तपाईंले मिस्टिका भन्दा कस्तो मजा लाग्छ हो मलाई त । खासमा कुरो के भनेनी यो ९ नम्बर गज्जबको छ के यसले गुणनहुने सबै अंक या यसका दुनाहरुको योगपनि नौ नै हुन्छ । यो अन्तिम नम्बर हो । मैले ए भनेँ । मिस्टिका धेरै सुन्दर थिई । फेरि मिस्टिक उपन्यास कि मिस्टिक पात्रसँग मिस्टेकली लभ पर्ला भनेर म सुटुक्क निस्कें ।

उफ् प्रभु एकैदिन यतिधेरै पात्रसँग भेट ? हैट् म किताबभित्र छु कि बाहिरी दुनीयाँमै छु भनेर आँफैलाई एक झापड हानेँ । ओहो म बाहिरी दुनीयाँ मै रैछु धन्न । कुनै फिक्सन राइटरले गिजोलेको पात्र पो हुँ कि भनि क्या विरताको आत्मा तर्सेर आउँछ ।
केहीदिनको पात्रभेटघाट अवकाश पछि एकदिन मोबाइलमा स्क्रिन फेर्नुपर्यो भनि चिप्लेढुङ्गा वि.पि चोकतिर जाँदैगर्दा चिप्लेढुङ्गा माथी नै एउटा कवि झुकेर केही लेख्दै थिए, ज्या नजिकै पुगेपछि पो चिनेँ यी त हाम्रै जनकवि जुरेली गोकुल जोशी पो रैछन् । के लेखेछन् बुढाले भनेर यस्सो हेरेको त यस्तो लेख्दै रैछन्

विवश भए मनुष्य झुक्ला भावना झुक्दैन ।
शहिदका लाश लुकाए पनि दुष्टता लुक्दैन ।

हैट् जनकवि ले त नेपाल सरकार को छातीमै हानेका रैछन् नी, । कसैले हेरेझैँ मानेपछि बल्ल मतिर फर्केर सोधे:– ए नाती केटा कता हिँडिस् ए ? के गरिराछस् ? दुब्लाइछस् त गाँठे ?
मैले स्क्रिन फेर्न जान लागेको भनेँ । अनि भनेँ – बुढा बा तिम्रा गीत जति धर्मे की कर्मेले आफ्नो नाममा गाएर सिध्यायो तिम्रो नामोनिशान छैन ।

गोकुल बाजे त स्याड पो भैगये त ।
ए धर्मे ले त्यसो पो गर्यो ? अनि भने जा नाति केटा छाडिदे रचना पो चोर्ला त कला र गला अनि विश्वास त चोर्न सक्दैन नी छाड्दे ।
एकदिन लभ्ली डाँडो घुम्दै थिएँ एक्लै । सालघारी तलपट्टि कुर्थासुरुवाल लगाएकी युवती देखापरी । समय परिवेश पनि त्यस्तै थियो अनि लभ्ली डाँडो । युवती तिर हेरेको त त्यो त वाङ्देल कि म्याउँची पो रैछे । रने ले उचालेर नदीमा फाल्दा म मरेकि थिइन तर वाङ्देल अंकलले मेरो कथा नै समाप्त गरिदिए भन्ने गुनासो उसले गर्न भ्याइ ।

पीएन सी कलेज बाट लुखुरलुखुर झर्दै थिएँ केशवराज चस्मा मिलाउँदै लगाउँदै रैछन् ।
के छ बुढा के गर्या छौ यता चाकडी नगरेर ? भनेको चस्माको पावर जाँचेको बाबु, आजकल चाकडी छाडेर आफ्नै पसल थापेको छु भन्नी जवाफ दिए । ए त्यसो भए वि.पी बुढालाई जय नेपाल सुनाइदेउ है भनेर म पथिक भैगएँ ।
अनि विन्ध्यवासिनी हलको दायाँपट्टि को चौतारोभन्दा अगाडी रहेको वि एण्ड वि क्याफेको छतमा म उर्फ अघोरी मेरी तपसिलकि गर्लफ्रेन्ड उर्फ द कप अप टि सँग चुम्बन क्रिडामा मस्त थिएँ कि वि.पि कै कथाको तपस्वी पात्र फटास् से मेरो मौनता तोड्न आइपुगे ।
मैले पनि रिस पोखें ये भी कोइ टाइम है तपस्वी जी प्रकट् होने का ?

तपस्वी जी मस्कुराइगए अनि बोले :– शान्ति शान्ति भवानयोपकारणाय उपस्थितोहम् । बुढाले संस्कृत पेले नराम्ररी । काला अक्षर भैँसी बराबर । लौ तनी भनेर उनका दुइचार प्रवचन दायाँ कानले नै सुनिदिएँ । बुढा स्मितहास्य सहित हुँ फट् भए ।

जेठ असाको महिना लामा दिन, अनि राइपुर कोट मा बसी सूर्यास्तको मज्जा लिनु नै आँफैमा स्वर्गीय आनन्द हो । छेवैमा इन्द्रचण्डी को स्थान अनि तलतिर कपास उडेझैँ बादलहरु र त्यसैमा परेका सूर्यका रश्मिहरु । कुहिरोक्रिडा दौडमा छिटपुट देखिने सप्तद्विपा बसुन्धरा का हरिया डाँडापाखाहरु । यो बेला भनेको कुनै पौराणिक पात्रसँग भेटघाट हुनसक्ने बेला हो । काली जुबान भन्छ नी हिन्दीमा त्यस्तै भयो ।
धप्प बलेर पिताभामण्डल सहित एक पौराणिक पात्र मेरा सामुन्ने उपस्थित हुँदाभए । इषत्हास्य सहित जमिनमा पाउ नपारी आँखा पनि झिमिक्क नगरी म भएसम्म आए । भने पृथ्वी जी म त्रेतायुगको प्राणी रामायणको पात्र मातली हुँ । मैले राम–रावण युद्ध मा रामको रथ हाँकेको थिएँ । रावणको मृत्युपछि म सेवानिवृत्त भएँ । अहिले सिद्धाश्रम मा बसी तप गर्छु । कहिलेकाहीं ज्ञानकुञ्जतिर पनि गएर विज्ञान सिकेर आउँछु । मैले राम रावण युद्ध प्रत्यक्ष देखेको छु । हुन त म सानो भुमिका पाएको पात्रलाई कसैले ख्याल पनि गरेनन् होला । रामायणको अलिकति ठाउँमा मैले रामलाई ब्रह्मास्त्र हान्ने सल्लाह दिएको पनि छु । मैले सम्मान प्रकट गरेर बस्न अनुरोध गरेँ । मातली जी ले काँधमा हात राखेर फिस्स के हाँसेका थिए अलप भए ।

अरु पनि थुप्रै प्रतिनिधि पात्रहरुसँग मेरो मनग्गे भेट हुनेगर्छ । पात्रहरु अत्यन्त जीवन्त हुन्छन् । चाहे पौराणिक होस् या आधुनिक । तिनै प्रतिनिधि पात्रलाई म यो गोलामा यत्रतत्र छरिएर हरेक भीँडमा सामिल पनि देख्छु । कुनै अलमुस्तफालाई पहाडका टुप्पाहरुमा भेट्छु कुनै मोदिआइनलाई तराइका फाँटहरुमा । थुप्रै पात्रसँग जीउ छोइन्छ, कोही हाँस्छन्, कोही रिसाउँछन् , कोही तटस्थ हुन्छन् । कोही न कोही केही न केही पाठ सिकाएरै जान्छ । लौ त यो म पात्रले केही सिकाएको भए म पात्र पनि बिदा हुन चाहन्छ ।

प्रकाशित मिति: १९ पुष २०७६, शनिबार ०८:००