संस्कृती संरक्षणका लागि शिवरात्रीमा सोरठी प्रस्तुत

शंकर केसी,
दाङ, ६ फागुन ।

मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले दाङको शान्तिनगरमा महाशिवरात्रीको अवसर पारी सोरठी प्रस्तुत गरिएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ चिराघाट स्थित महेश्वर शिव मन्दिरमा सोरठी नाच प्रस्तुत गरिएको हो । शान्तिनगर ३ भलानेटिका स्थानियले कृष्ण चरित्र सोरठी नाच प्रस्तुत गरेको र मन्दिरमा पुजा अर्चना संगै भजनकृतन पनि सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम तिवारीले जानकारी दिए ।

पुरुष मान्छे महिलाको पहिरनमा नाच्ने सोरठी विशेष संस्कृती र कलाको रुपमा रहेको छ । तर पछिल्लो समय लोप हुँदै गएको सोरठी नाचको जगेर्नाको चिन्ता रहेको भलानेटीका सोरठीका गुरु भिम ब वलीले बताए । आफु १०÷१२ वर्षको उमेरदेखि नै नाच्न थालेको बताउदै उनले मौलिक कला संस्कृती संरक्षणमा कसैको पनि चासो नदेखिएकाले चिन्ता व्यक्त गरे । महाशिवरात्रीको अवसरमा आफुहरुको संस्कृती प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गर्दै पुरुसुङेको भुमिकामा सोरठी नाच्ने तिलकराम सापकोटाले युवा पुस्ताले पनि पौरानिक कला संस्कृतीप्रति चासो राख्नुपर्ने बताए । आफु र आफ्नो समूहले पनि शान्तिनगर ३ बस्तीखोलाकै गुरु दल बहादुर घर्तीबाट सोरठी सिकेको बताउदै उनले सबैमा सिक्ने इच्छा हुनुपर्ने बताउँछन् ।

यहाँको सोरठीमा दुइ जना मारुनी र एक जना पुरुसुङे हुन्छन् । यस नाचमा तीन जना मादले हुन्छन् । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गरिन्छ । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ । तर आर्थिक अभावमा सोरठीका लागि चाहिने मादल, पैजन लगाएतका बाध्यबाधनका साधन र पोषाक जुटाउन समस्या रहेको अर्का स्थानीय दल बहादुर खत्रीले बताए । गाउँमा अहिले सोरठी नाच्ने १५÷१६ जना मात्रै भएको जनाउदै उनले स्थानीय सरकारले कला संस्कृतीको जगेर्नामा प्राथमिकताको साथ काम गर्नुपर्ने बताए ।

सारठी लगाएत पैसेरु, लहरे नाच जस्ता मौलिक कला संस्कृतीलाई लोप हुनु भन्दा अगाडि नै जगेर्ना गर्ने जमर्को नगरे भोलि लोप भएर गइसकेपछि केही गर्न नसकिने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बीनि प्रदेशका सदस्य तथा गायक प्रेम विवश घर्तीको भनाई छ । यसका लागी स्थानीय, प्रदेश तथा संघीय सरकार र कला संस्कृती संग सम्बन्धीत निकायले चासो देखाउन र पहल गर्नु जरुरी रहेको उनले बताए ।

सोरठीका विभिन्न चरणहरु रहेका हुन्छन् । दाङ, सल्यान लगाएतका क्षेत्रमा ५२ चरण सोरठी गाउने गरेको भएपनि पछिल्लो समय सबै चरणको सोरठी देख्न नपाइने अवस्था छ । सोरठी नाचमा दैवीय शक्ति छ भन्ने पनि विश्वास गरिन्छ । किन की शुरुको चरण समेर्ने चरणमा केहि व्यक्ति काँप्ने गर्छन् । समेर्ने चरणमा सरस्वती लगायतका देवीदेवतालाइ पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काँप्ने गरेको स्थानीय कलाकार खब बहादुर बुढाले जनाए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार १७:१०