बुलाकीमा जारी प्रथा र निसन्तान हुँदा पाएको तिरस्कारको कथा(टिजर सहित)

शंकर केसी,
सल्यान, ७ फागुन ।

कर्णालीका कतीपय क्षेत्रमा अझै पनि व्याप्त जारी प्रथा र ग्रामिण जिवनशैलीलाई मिहेनतका साथ समेटिएको नेपाली चलचित्र बुलाकी को प्रतिक्षामा दर्शकहरु रहेका छन् । आगामी नयाँ वर्ष २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्रको टिजर भर्खरै सार्वजनिक भएको छ । टिजरमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का श्रीमान श्रीमतिको भुमिका सहित मुख्य रुपमा प्रस्तुत भएका छन् । उनीहरु कर्णालीको वास्तविक भेषपुषा र लवजमा प्रस्तुत भएको भान हुन्छ ।

यतिखेर बुलाकीको टिजरले राम्रो प्रतिक्रिया पाइरहेको छ । लक्ष्मण सुनार निर्देशनमा टोपेन्द्र विष्टले निर्माण गरेको यस चलचित्रमा विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा निसन्तान हुँदा महिलाले पाएको पिडा र तिरस्कार सहित पारिवारि कथा समावेश भएको अभिनेता विराज विष्टले बताए । उनले भने, ‘हामीले अहिले टिजर मात्रै सार्वजनिक गरेका छौँ । यसले राम्रो प्रतिक्रिया पाइरहेको छ । अव लगत्तै प्रमोशनल सङ र त्यसपछि पनि अर्काे गित रिलिज गरेपछि ट्रेलर पनि आउँछ ।’ चलचित्रमा चार वटा गित समावेश भएको उनले जानकारी दिए । डोल्पा, जाजारकोट, रुकुम पश्चिम लगाएतका विभिन्न बिकट स्थानमा यो चलचित्रको छायाँंकन गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम् र अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । बुलाकीको बितरण त्रिनेत्रम् र एफडीले गर्नेछन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार १७:४८