रिलिज भयो ‘सेल्फी किङ’को ट्रेलर, माघ २४ गते फिल्म प्रदर्शन हुने (भिडियो सहित)

काठमाण्डौँ– चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा देख्न सकिन्छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनीक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा विपिनले आफ्नो वास्तविक जीवनसँग फिल्मको कथा केही हद्सम्म मेल खाने बताए । त्यस्तै लक्ष्मी वर्देवा, भुवन चन्द लगायतले सम्पूर्ण टिमको मेहनतले एउटा राम्रो फिल्म बनेको बताए ।

चलचित्रमा विपिनसगै लक्ष्मी वर्देवा,अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बाँस्तोला, जीवन भट्टराई लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।निर्देशक सापकोटाका अनुसार चर्चामा आएको एक टेलिभिजन कमेडियनको तीन दिनको कथा नै फिल्मको मुख्य कथा हो ।

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्। फिल्मका निर्माता दिनेश पर्दामा हँसाइरहने कमेडीयनको जीवन आम मानिसले सोँचेजस्तो नहुन पनि सक्छ भन्ने यथार्थलाई ‘सेल्फी किङ’मा देखाईएको बताउँछन् ।

फिल्ममा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन् । फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउदैछ ।

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार ०९:४६