रोजगारी श्रृजनालाई प्राथमिकतामा राख्दै कालिमाटी गाउँपालिकाले ल्यायो ५२ करोड बढीको बजेट

Triveni

सल्यान- कोभिड नियन्त्रण संगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई विशेष प्राथमिकतामा राख्दै सल्यानको कालिमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यस्तै भौतीक पूर्वाधार तर्फ अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने र निरन्तरता दिनेगरी गाउँपालिकाले आ.व. २०७८।०७९ को लागि बजेट ल्याएको हो ।

कालिमाटी गाउँपालिकाको दशौँ गाउँसभाले पारित गरेको बजेटमा एक वडा एक कृषि उत्पादन तथा एक वडा एक पशुपालन ब्यवशायका लागि ४०÷४० लाख रुपैयाँ विनियोजन गरिएको छ भने नमुना तरकारी ब्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए भने मंगलबार उपाध्यक्ष सनशिलता वली डिसीले बजेट सार्वजनिक गरेकी हुन् । बेरोजगारी समस्यालाई समाधान गर्न, विदेश जाने दरलाई न्युनिकरण गर्न तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष केसीले बताए । जसका लागि कालिमाटी अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि १५ लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानको लागि जग्गा नापजाँच कार्यक्रमको लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सडक विस्तार तर्फ एक करोड ५० लाख, सडक मर्मत सम्भार तर्फ ६० लाख, खरको छाना विस्थापनका लागि एक करोड रुपैयाँ कालिमाटी गाउँपालिकाले विनियोजन गरेको छ । सिंचाई, खानेपानी, भवन, नदी नियन्त्रण, पोषण, खेलकुद, कला संस्कृती संरक्षण, विद्युत विस्तार तथा वैकल्पीक उर्जा कार्यक्रमका लागि पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि पुँजीगत तर्फ २६ करोड ५० लाख र चालु तर्फ २५ करोड ८५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष डिसीले जानकारि गराइन् ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker