भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाइँदै

काठमाडौं ।

सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको हो।

मन्त्रालयका अनुसार २०६१ साल मंसिरदेखि २०६६ मंसिरसम्म जन्म भएका बालबालिकाहरुलाई पुस ४ देखि १४ गतेसम्म खोपको पहिलो मात्रा दिने भएको हो।

दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइनेछ। यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ। २० जिल्लामा फाइजर खोप संचालनमा छ। बागमतीका ६ जिल्ला कर्णालीका १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा भने पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइनेछ भने बाँकी १२ जिल्लामा खोप मिति तोकेर निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भइ बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ३ पुष २०७८, शनिबार १२:४२