सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्नुपर्छ : अध्यक्ष शाही

रमेशकुमार वली
सल्यान,२५ माघ नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले सरकारले निजि क्षेत्र संग सहकार्य गर्नुपर्ने बताउनुभएको छ । कर्णाली सम्भावनाको खानी भएकाले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्न सरकारले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।
आइतबार सल्यानको श्रीनगरमा सल्यान उद्योग बाणिज्य संघ सल्यानको १० औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै शाहीले कर्णालीमा नीजी क्षेत्र लगानी गर्न इच्छुक भएकोले यसका लागि सरकारले बातावरण तयार गर्नुपर्ने बताउनुभयो । “हामी कर्णालीको समृवृद्धीका लागि लगानी सम्मेलन गरी लगानी कर्ताहरुलाई भित्र्याउन तयार छौ यसका लागि सरकारले सहकार्य तथा लगानीको बातवरण तयार गर्नुपर्छ।” शाहीले भन्नुभयो ।

कर्णाली प्रदेश पर्यटन सँगै कृषि, पशुपालन तथा जडिबुटीको भण्डारण भएकाले यहाँ उत्पादन भएको बस्तु राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिस्तार गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाई छ । “सल्यान जिल्लामा बर्षेनी ठुलो मात्रामा टिमुर, अदुवा, सुन्तला उत्पादन हुदैँ आएको छ, यसले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरका बजारसम्म पनि आफ्नो पहिचान बनाएको छ,” शाहीले भन्नुभयो “हामीले निर्वाहमुखी प्रणालीलाई त्यागेर ब्यवसायिकरणमा जोड दिनुपर्दछ, यसको लागी सरकारले लगानीको वाताबरण सँगै लगानी सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्दछ।” 
उहाँले सल्यान सँगै कर्णाली प्रदेशमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्ने नसकेको गुनासो गर्नुभयो । पछिल्लो समय स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरण गर्नु प्रमुख चुनौती भएको उहाँको भनाई छ । 
यस्तै कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैधले पछिल्लो समयमा स्थानीय तहले राजस्व संकलनमा वृद्धि गरेर ब्यवसायीहरुलाई समस्यामा पारेको बताउनुभयो । उहाँले राजस्व संकलन गर्ने अधिकार स्थानीय तहलाई भएपनि ब्यवसायिको हितमा काम गर्नुपर्ने बताउनु भयो । 
यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले जिल्लामा आर्थिक गतिविधि संचालनका लागी थुप्रै सम्भावना भएको बताउदैँ यसको प्राथामिकिरणमा निजि क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो । यसका लागि सरकारी क्षेत्र संग सहकार्य र समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । 
यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले ग्रामीण क्षेत्रमा रहेका ब्यापारीहरुलाई समेत समेटेर सबैको साझा संस्थाको रूपमा स्थापित गर्न उद्योग बाणिज्य संघलाई सुझाव दिनुभयो । यस्तै त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले गाउपालिकाले हरेक क्षेत्रमा निजि क्षेत्र संगसहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । यस्तै कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसीले ब्यवसायिको हितको लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २५ माघ २०७७, आईतवार १७:१९