कच्चा तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा

एजेन्सी – विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । जसका कारण तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा झरेको छ ।

चीनमा कोभिड शून्य नीतिको द्रुत कार्यान्वयनका कारण कच्चा तेलको मूल्य ८ महिनाकै न्यून विन्दुमा झरेको हो । चीनमा कोभिड प्रतिबन्धका कारण तेलको विश्वव्यापी मागमा असर पर्ने लगानीकर्ताको अनुमान छ ।

यसैबीच महँगी नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाइ गर्दा पनि तेलको मूल्य घटिरहेको जानकारहरु बताउँछन् ।

चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको मागलाई असर गरेको छ ।

हिजो बुधबार कच्चा तेल डब्ल्यूटीआई करिब ६ प्रतिशतले घटेर ८३ डलर प्रतिब्यारेलमा झरेको थयो । यो मध्य जुलाईयता तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

आज बिहीबार बिहान भने कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार बिहान ब्रेन्ट तेल ०.८१ प्रतिशत वा ०,७० डलरले बढेर ८८,६९ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहीबार ११:४७