धार्मिक पर्यटनका लागि अर्को गन्तव्य लक्ष्मीपुर शक्ति पीठ

 

सल्यान जिल्लाको सदरमुकाम खलंगा देखि २४ कि.मि. पश्चिममा लक्ष्मीपुर पर्दछ । कालीमाटी गाउँपालिको वडा नं. १ पोखराबाट ४ किमी. तल भिरालो देउराली भन्ने स्थानमा यस शक्ति पिठ रहेको छ । स्कन्द पुराणको १० आंै अध्यायमा समेत यस शक्ति पिठको वर्णन गरिएको छ । उक्त पुराणमा सतीदेवीको मृत शरिर महादेवले वोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस स्थानमा आइपुग्दा सतीदेवीको वायाँ करङ्घ पतन भएको र उक्त स्थानमा त्रिकुटेश्वर ज्योर्तिलिंग उत्पत्ती भएको भनिन्छ । यस शक्ति पिठमा अहिले पनि सतीदेवीको करङ्घ पतन भएको स्थानको करिव ५ मिटर माथीतिर पहरामा तीन वटा शिवलिंग आकारका ढुंगाहरु रहेका छन् । त्यसको पश्चिम तिर एउटा मानिसको टाउको अटाउनेखालको प्वाल रहेको छ सो प्वालमा ध्यानपुर्वक सुने पञ्चेवाजाको मन्द धुन आउने गरेको वताइन्छ । ज्योर्तिलिङ्घ उत्पत्ती भएपछि देवताहरु उक्त स्थानमा पूर्वतिरबाट पुजाआजा गर्न आएको र हाल पनि त्यहि वाटोबाट पुजाआजा गर्ने चलन रहेको छ । यस्तै अर्को स्थानमा महादेवले प्रयोग गरेको हुक्का रहेको छ । यसैगरी त्यसका तलतिर रहेको गुफामा शिव पार्वतीको शयन कक्ष रहेको र हाल शयन गरिरहेको अवस्थामा शिव पार्वतीको मुर्ति रहेको देख्न सकिन्छ । यो संगै दुईवटा ढंगा मिलेर प्रवेशद्वार वनेको र त्यहिबाटोको प्रयोग गरेर शिवपार्वती शयन कक्षमा प्रवेश गर्ने गरेको भनाई स्थानीयहरुको छ ।
यस क्षेत्र वरीपरी जंगल विभिन्न प्रजातिका रुखहरु यस स्थानमा पाइन्छन् । समुन्द्र सतह देखि करिव १३०० मिटरको उचाईमा रहेको यस स्थानमा पुग्न लक्ष्मीपुरको पोखरबाट ४५ मिनेट पैदल दुरी पार गरेमा यस स्थान सम्म पुग्न सकिन्छ । अत्यन्तै मनोरम दृश्हरु, हरियाली जंगलको वाटो भएर जाँदा दुख समेत विर्सने गरेको देखिन्छ ।
पर्यटकिय आकर्षण
यस शक्ति पिठ सम्म पुग्नका लागि जंगलको वाटो भएर जानुपर्ने भएकोले हरियो जंगल र विभिन्न प्रजातीका चराचुरुगीहको आवाजसंगै प्राकृतिक मनोेरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । प्राकृतिक रुपमा पहरमा विभिन्न आकृतिहरुका मुर्तिहरु रहेको , चोरले भाँचेर लिएको शिवलिंग पनि फेरी पलाउदै गएको स्पष्टै देख्न सकिन्छ । यस क्षेत्रमा शिव गुफा रहेको र यसको प्रवेशद्धारमै शिवपार्वति शयन गरिरहेको प्राकृतिक मुर्ति रहेको छ । . यहाँबाट शारदा नदि किनारका हरियाफाँटहरु अवलोकन गर्न सकिन्छ ।

खासगरी यस शक्ति पिठको इतिहाँस र जनश्रूति निकै पुरानो रहेको छ । यस शक्ती पिठलाई स्कन्द पुराणको १० औं अध्यायमा समेत उल्लेख गरिएकोले यो पिठ निकै पुरानो र महत्वपूर्ण स्थानको रुपमा रहेको भन्न सकिन्छ । श्री स्वस्थानी व्रत कथामा उल्लेख गरिएको कथा अनुसार सती देवीको मृत शरिर महादेवले वोकेर पृथ्वी भ्रमण गर्ने क्रममा जहाँ जहाँ सतीदेवका अंगहरु पतन भए त्यहाँ त्यहाँ विभिन्न शक्तिपीठहरु उत्पत्ती भएको भन्ने उल्लेख गरिएको छ । त्यसैक्रममा पनि यस लक्ष्मीपुरको देउरालीमा आउदा सतीदेवीको वायाँ करङ्घ पतन भएको र त्यसबाट त्रिकुटेश्वर शक्ति पिठको उत्पत्ती भएको उल्लेख गरिएको छ । शक्ति पिठ उत्पत्ती भएपछि यहाँ पुजा गर्न विभिन्न देवी देउताहरु पुर्वपट्टीबाट आउने गरेको र पश्चिमबाट तलतिर झरेर शिवपार्वतीको शयन कक्षमा पुजा गरेपछि अन्तरध्यान हुने गरेको किवदन्ती रहेको छ यहाँ अझै पनि एउटा ढुंगाको प्वालबाट पञ्चेवाजाको धुन वजेको सुनिने गरेको स्थानीय तुलसीराम वलीले वताउनुहुन्छ । देवी देउता पुजाआजा गर्न आउने क्रममा पञ्चेवाजा वजाउने गरिएकोले अहिले पनि यहाँ सुनिने गरेको स्थानीय मेर सिंह वस्न्ेतले वताउनुहुन्छ ।


यस्तै अर्को किवन्ती अनुसार एकपटक सन्यासीको रुपमा महादेव शक्तीपिठमा आएर खिर पकाउदै गरेका थिए । त्यहि समयमा त्यहि पिठ नजिकै जग्गा भएका परान रावतले गोरु लिएर वारीमा जाँदा महादेवले खिर पकाउदै गरेको देखेको र देखेपछि महादेवले उनलाई खिर खान आग्रह गरे तर रावतले विहानै जाँड खाएर आएको र खिर नखाने भनेपछि यसरी खिर पकाउन लागेको कसैलाई नभन्नु कसैलाई भनेनौ भने तिमीले सोचेको पुग्ने छ भनेर वरदान दिए । परान रावत अलि पर गएर सन्यासीतिर फर्केर आउदा महादेव अन्र्तध्यान भइसकेका थिए । तर उक्त मान्छेले खिर पकाएको हल्ला गाउभरी गरिदिए । गाउमा हल्ला गरेकै दिन त्यहि शक्तिपिठबाट ज्वाला निस्केर उनका दुवै आँखा नदेख्ने भए र वेलुका उनको प्राण गयो । त्यसको केही समय पछि उनको वंश नै नासिएर गयो । त्यहि वेलादेखि त्यस क्षेत्रका मानिसहरु लक्ष्मीपुरमा रहेको शक्ति पिठको चर्चा गर्न र प्रचार प्रसार गर्न डराउने र थाहा पाएको कुरा पनि नभन्ने गरेको पाइन्छ । हाल शक्ति पिठ नजिकै रहेको जग्गा उनैको हो र कसैले पनि उपभोग नगरेको स्थानीय मेरसिंह वस्नेतले वताउनुु भयो । यस शक्ति पिठमा आएर पुजाआजा गरेमा मनले चिताएको पुग्ने र निसन्तानहरुलाई सन्तान प्राप्ती हुने जन विश्वास रहेको छ । यहाँ पुजाआजा गर्न सल्यान, दागं र सुर्खेत जिल्लाबाट पनि भक्तजनहरु आउने गरेका छन् ।

ढुङ्गाको दुर्लभ दमाहा

सल्यान जिल्लाको पश्चिम क्षेत्रमा गाविस (हालको कालीमाटी गाउपालिका वडा नंं १ ) पोखरा वजार देखि माथी रहेको अग्लो डाँडोमा ठुलो चौर रहेको छ । समुन्द्र सतह देखि मिटरको १ हजार ८ सय उचाइमा रहेको यो स्थानमा मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भएको वेलामा विमानस्थल वनाउने भनेर नाँपजाँच गरिएको थियो । पछि विभिन्न कारणले त्यो सफल हुन सकेन । हाल यस क्षेत्रमा २० घर परिवार वसोवास रहेको छ । पोखरा वजार देखि करिव १ हजार पाँच सय मिटर उकालो हिडेपछि यो चौर आउछ जसलाई कोट भन्ने गरिन्छ । यस स्थानबाट मौसम सफा भएको अवस्थामा नेपालगञ्ज वजार स्पष्ट देखिने गर्दछ । यसका साथै कालीमाटी रामपुर वजार क्षेत्र शारदा नदिको हरिया फाँटहरु देख्न सकिन्छ । अग्लो स्थानमा रहेको हुनाले यस स्थानबाट सल्यान जिल्लाबा अन्य भुभागहरु र अग्ला डाँडाकाँडाहरु देख्न सकिन्छ । सफा मौसम भएकोवेला यसको वरीपरीबाट देखिन हरिया डाँडाकाँडाहरुले अत्यन्तै मनमोहक वनाउछ । उकालो बाटो भएपनि वाटोको दुवै किनारामा रहेका लालीगुराँस काफल, चुत्रा लगायतका हरियाली दृश्यहरुले खासै थकानको महसुस हुन दिदैन । यस क्षेत्रमा जानका लागि खलंगा देखि लक्ष्मीपुर सम्मको २० कि.मी गाडीको यात्रा पछि करिव १ हजार ५ सय मिटर भने पैदल यात्रा गर्नु पर्दछ ।

समुन्द्र सतह देखि करिव १ हजार ८ सय मिटरको उचाइमा रहेको यस कालीमाटी गाउपालिका १ कोट रहेको छ । कुनै समयमा यस स्थानमा गाउका ठालुहरुको वैठक वस्ने भएकोले यस स्थानलाई कोट भनिएको हो । यहि चौरको पुर्वी क्षेत्रमा एउटा दशै घर निर्माण गरिएको छ । यस दशै घरमा वडा दशै र चैते दशैमा पुजाआजा गर्ने र भगवतीलाई वलि चढाउने प्रचलन रहेको छ । यसको छेवैमा कमालाक्षी भगवतीको मन्दिर रहेको छ । यस मन्दिरमा भक्तजनहरुले वाह्रै महिना पुजाआजा गर्न सकिन्छ । मन्दिरको प्रांगनमा एउटा ढुंगाको दमाह राखिएको छ । दमाहसंगै एउटा ठुलो ढुंगा पनि राखिएको छ ।

यस मन्दिरको प्रवेशद्धार नजिकै पुर्वपट्टी दमाह आकारको ढुंगा राखिएको छ । यस दमाह ७ सय वर्ग सेमी रहेको छ । यो दमाह सामन्यतया मानिसहरुले वजाउन प्रयोग गर्नका लागि वनाइएको दमाह आकारमै रहेको छ । तर यो ढुंगाको भएकोले यसको तौल १ सय ५० केजी भन्दा वढि रहेको छ । सामन्यतया यसलाई उठाएर वर पर सार्न सक्ने अवस्था छैन ।

यस दमाहको किवन्ती अन्तत्तै रोचक छ । स्थानीय वासीको अनुसार यो दमाह लक्ष्मीपुर गाविसको श्रीखोलाबाट ल्याइएको हो । यस मन्दिरमा पुजा गर्ने पुजारीले सपनामा देवीको साक्षात रुप देखे । पुजारी प्राण रावतलाई मेरो मैले लक्ष्मीपुरको श्रीखोलामा दमाह छोडेको छु त्यो ल्याएर मन्दिरको वाहिर राख्नु भनेर देवी अन्तरध्यान भइन । विहान उज्यालो भएपछि दमाह खोज्दै पुजारी श्रीखोलामा पुगे श्रीखोलामा पुगेपछि उक्त दमहा भेटेपछि त्यसलाई वोकेर मन्दिरमा ल्याएर राखे । पुजारीले दमाहलाई सपनामा भने अनुसार मन्दिरको पुर्वपट्टीको प्रवेशद्धार नजिकै राखे । त्यस्तै त्यहि ढुंगासंगै अर्को ढुंगा रहेको छ । ढुंगामा गाइको अगाडीको खुट्टाको खुर रहेकोले पनि त्यसको पुजाआजा गर्ने गरेको पाइन्छ । यस स्थानमा दशैको वेला देवी यस स्थानमा आएर विराजमान हुने गरेको पाइन्छ ।
यस संगको अर्को किवदन्ती अनुसार यस मन्दिरबाट केही मानिसहरुले रातीमा आएर देवीको मुर्ति, त्रिशुल आदी लिएर कालीमाटी गए । कालीमाटीको पुतली वजार (हाल कालीमाटी गंगामालाको मन्दिर रहेको) स्थानमा पुजाआजा गर्ने तयारी गरेको वेला त्यहाँ लिएका सवै मुर्ति त्रिशुल एकाएक गायव भए पछि खोज्दै जाँदा लक्ष्मीपुरको कोटमा आएकोदेखेपछि पुन त्यही स्थानमा पुजापाठ गर्न थाले भन्ने भनाई रहेको छ ।
यस मन्दिरलाई तालावन्दी गरेको भएपनि दमाह वाहिर राखिएको हुदा यो जिर्ण वन्दै गएको छ । दमाहको वरीपरी वोक्नका लागि डोरी राखिने भाँचिएको अवस्था रहेको छ । भने ढुंगाबाट पत्र पत्र निस्किदै जाँदा यसको आकार समेत सानो हुदै गएको छ । मन्दिर वरीपरी तारवार गरिएको भएपनि पुजारीको व्यवस्था नहुदा चोरी हुन सक्ने, क्षति हुन सक्ने खतरा उत्तिकै रहेको छ ।
स्थानीय तहले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सके पर्यटनको अर्को महत्वपुर्ण गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार १४:१०