शिक्षा सुधारका लागी शिक्षककाे प्रश्नः शिक्षकलाइ दाेष दिइरहने कि मुल कारण खाेतल्ने ?

शिक्षण र सिकाइको बीचमा फरक छुट्याउदा छुट्याउदै अनवरत प्रहार खेपेको हामी शिक्षकले दिएको शिक्षाको कारणले त होला आज भोली सबै तिरबाट अन्योलता र अपव्याख्याको समाचारमात्र बजेको तथा लेखिएको देखिन्छ । कहि कतै राम्रो नयाँ खबर सुनिन्छ कि भनेर आशा गर्नु समेत चाहेको सपना देख्नु सरह भयो । “अब देखि विद्यालय अनुगमनमा कडाइ ।”

“विद्यालयमा हाजिरि मेशिन जडान गरियो ।” “ १०ः०० बजे देखि नै विद्यालयमा अनिवार्य उपस्थित निर्देशन दिइयो ।” आदि आदि ।

हामी र हाम्रो समाज  दोषारोपण संस्कृतिबाट ग्रस्त छ ।  हाम्रो स्कुलीङको कारणले जन्मजात जसरी यो प्रवृति मौलाएको छ । उदाहरणको रुपमा हामी सानो हुँदा भर्खर हिडन सिक्ने बेलामा ठेस लागेर लडियो भने अभिभावकले हामीलाई होइन हामी जुन बस्तुमा ठोकियौ त्यही वस्तुलाई गल्ती उसकै हो जसरी सजाय दिनु भयो । ढुङ्गा भए फालेर ,टेबुल भए हटाएर,आफु भन्दा ठुलो दाजु वा दिदी भए उसलाई आरोपित गराएर हामीलाई सिकाउनु भयो हाम्रो गल्ती होइन भनेर । हामीमा त्यो धारणाले पश्रय पाउदै गयो । मन भित्र बस्यो हामी गल्ती गर्नै सक्दैनौ । हाम्रो कारणले केहि हुदैन् । वाटोमा लडियो भने बाटोको कारण, कुनै कामको असफलतामा हामी हाम्रो गल्ती कमजोरी खोज्दैनौ ।हाम्रो विश्लेषणको पाटो नै अर्को पात्रको खोजीमा हुन्छ । जसले हामीलाई कारण देओस् र हामी भन्न सकौ गर्न त गरेकै हो ………नभैदिएको भए । शिक्षक पनि त यहि समाज कै अंग त हो नी । हामीले पनि यसो भन्न त मज्जाले पाइन्छ होला?

प्रसंग तत्कालीन समाज र सामाजिक व्यवहारमा केन्द्रित गरौ । हामीलाई कसैले होइन सबैले मुर्ख बनाई रहेका छैनन र । शिक्षकले गर्ने पहिलो कुरा शिक्षा नै भएकोले सन्र्दभ शिक्षाबाट नै शुरु गरौ । सरकारले निशुल्क शिक्षाको नारा तथा निती अझ भनौ कानून नै बनाएको दशकौ विती सक्यो । निरन्तर मूल्याकंन ,विद्यालय सुधार योजना लगायतका योजना कार्यान्वयनमा ल्याएको समेत धेरै भैसक्यो । कानून बनाउनु ,नीति बनाउनु भन्दा पहिले आफ्नो अवस्थाको अवलोकन नगरेको त प्रष्ट छ । विषय र प्रसंगले अर्को अर्थ नलागेमा निशुल्क शिक्षालाई नै पहिलो प्राथमिकतामा राखी विश्लेषण गरौ है ।

हाम्रो देशले अँगालेको लोक कल्याणकारी राज्य व्यवस्थामा नागरिकका आधारभूत आवश्यकताहरुको जोहो गर्ने जिम्मा सरकारको हुन्छ । शिक्षा ,स्वास्थ्य , जस्ता जिम्मेवारीबाट सरकार भाग्न सक्दैन । सिद्धान्त यसै भन्छ । तर नारामा सिमित गरिएको निशुल्क शिक्षा भनेको प्रत्यक्ष रुपमा शिक्षामा व्यापारीकरण गर्नको लागि खुबै मेहनत साथ तयार गरिएको नियोजित योजना हो । विभिन्न दर्शनहरुको सारमा लुकेको अथवा देखाउन नखोजिएको सत्य मध्ये एउटा यो पनि हो । भद्रगोलको बीचमै नयाँले स्थान बनाउन सक्छ । सामान भर्दा बोरी हल्लाए मात्र नयाँ बस्तुको लागि ठाउँ बन्छ । सामुदायिक विद्यालयहरुमा अन्योलता नल्याएसम्म शिक्षाको व्यापारीकरण मौलाउन सक्दैन । उदाहरण त नेपालकै विद्युत प्राधिकरण छैन र ?

अर्को तर्क निस्कन सक्छ । निशुल्क शिक्षाको घोषणा शिक्षामा व्यापारीकरणको द्योतक होइन । ठिक छ त्यसो भए निशुल्क शिक्षाको नारा ल्याउनु भन्दा पहिले हाम्रो अवस्थाको विश्लेषण गरीयो कि गरिएन । हामीसगँ उपलब्ध भएको वा उपलब्ध गराउन सकिने साधन छ कि छैन । साउनको महिनामा खुल्ला चौरमा भोजको आयोजन गर्दा आगो सल्काएर खाना बनाउदा माथि ओत छकि छैन? आकाशमा बादल छ कि छैन? दाउरा ओभानो छ कि छैन ? हेर्दै नहेरी पहिले पाहुना बोलाउने ,आगो सल्काउने (सल्काउने पनि नभनौ सल्काउन आदेश दिने ) पानी परेमा के गर्ने ? आगो नै सल्काउन नसकिएमा के गर्ने ? दाउरा ओभानो भेटिएन भने के गर्ने ? योजना चाहियन र ? आएका पाहुनाले भोजमा खाना पाकेन भने के भोकै बस्लान त वैकल्पिक व्यवस्था गर्नबाट कसले रोक्न सक्छ र ।

त्यस अवस्थामा खाना पकाउने भान्से भन्दा त आयोजना गर्ने कै चर्चा हुनुपर्ने होइन र । त्यसै गरी निशुल्क शिक्षा कार्यान्वयन गर्दा एउटा कक्षा कोठामा कति जना विद्यार्थी राख्ने ? एउटा तहमा कति जना शिक्षक राख्ने ? शैक्षिक सामग्रीको जोहो कसरी गर्ने ? विद्यालयको भौतिक अवस्थाको व्यवस्थापन कसरी गर्ने ? शिक्षकको व्यवस्थापन कसरी गर्ने ? हाम्रो सन्र्दभमा यो विश्लेषण गरिएन भनेर ठोकुवा गर्न सकिन्छ । भर्खर शिक्षा मन्त्रालयले निकालेको दरबन्दी मिलानको लिस्टलाई एकपटक हेर्र्ने कि? सरदर १ प्रतिशत भाग्यमानी विद्यालयहरुलाई छोडेर ।

कयौ वर्ष देखि सुन्दै आएको छौ ।पचाउदै आएका छौ । यहि शिक्षा प्रणालीबाट दिक्षीत भएका सम्माननीय शिक्षाविदज्यूहरु ,स्वनामधारी शिक्षाप्रेमीज्यूहरु सम्माननीय राजनेताज्युहरुको विश्लेषण र दोषारोपण“नेपालको सामुदायिक शिक्षा पतनोन्मुख छ । यसको कारक शिक्षक हुन । विश्लेषणको पुछारमा केहि असल गुरुहरु पनि हुनुहुन्छ जस्को कारणले यतिसम्म भएको छ ।” हामी मख्ख । अघिल्लो हरफ हामी सहजै पचाइदिन्छौ किनभने हाम्रो अवधारणाको आधार नै त्यही छ । जे खराब हुन्छ त्यसको कारक म हुनै सक्दिन असलको कारक त म नै हो ।

अहिलेको शिक्षाको सबै खराब पक्षहरु शिक्षकका कारणले भएका हुन । शिक्षकलाई कस्न सकिएमा शिक्षाले अग्रगामी छलाङ नै लगाउछ ? संघीयताको शुरुवात देखि नै पहिलो प्रहारको रुपमा शिक्षक नै किन पर्नु पर्ने ? शिक्षकको शिक्षण विधिको अवलोकन खै ? पेशागत विकासका अवधारणा खै ? शिक्षा नीति खै ?स्पष्ट योजना र योजनालाई सघाउने कार्यनीति खै ? शिक्षकलाई धारे हात लाउदैमा शिक्षाको विकास हुन्छ ?योजना विहिन विद्यालय व्यवस्थापन समिति ,अधिकार विहिन प्रधानाध्यापक ,अवसरवादी स्वार्थ समूहको चंगुलमा फसेको बबुरो शिक्षक किन? असक्षम छ भने घर पठाउन कस्ले रोक्यो ? कारवाही गर्न कस्ले दिएन ? के शिक्षकले आफुलाई त्यति शक्तिशाली बनाएको छ कि उसको अपराधमा सजाय नपाउने ? त्यसो भए ऐन नियम नियमावली किन चाहियो ? सरोकारवालाहरुले आफ्नो कमजोरी ढाक्न शिक्षक तर्फ औला र्तेसाउने कि उपयुक्त कदम चाल्ने ? विद्यालयमा शिक्षक उपस्थित हुदैमा,कक्षाकोठामा शिक्षक बस्दैमा शिक्षाको सुधार हुन्छ ? आधार के ?

सामुदायिक विद्यालयको मुख्य पक्ष शिक्षक नै हो दुइ मत छैन तर हामी शिक्षामा के गर्न खोजि रहेका छौ ? एक पटक सोच्ने कि ? निशुल्क शिक्षाको नारा ल्याएर सामुदायिक शिक्षाको जग हल्याएको कसका लागि हो ? अन्तराष्ट्रिय अभ्यासमा निरन्तर मूल्यांकनका लागि कक्षामा बढिमा ३० जना सम्म भएको देखिएको छ अन्यथा बढि जसो १५ देखि २५ कै बीचमा रहेको सन्र्दभमा एउटै कक्षामा ३५ जना भन्दा बढि विद्यार्थी हुदाँ हुदै निरन्तर मूल्यांकनको पासो भिराएको कसले हो ? शिक्षामा व्यापारीकरणलाई निम्त्याएको कसले हो ? दिनमा ४ घण्टा मात्र पढाए हुन्छ भनी शिशु कक्षाका शिक्षकलाई आजीवन दास बनाएको कसले हो ? शिक्षकहरुको बीचमा विभेदको बिउ कस्ले छरेको हो ? राम्रा होइन हाम्रा नै हुनु पर्छ भन्ने अवधारण कसले जन्माएको हो ? विद्यालयमा राजनीतिक हस्तक्षेपलाई पश्रय दिएको कसले हो ? अध्ययन र योजना विना विद्यालय कसले खोलेको हो ?

शिक्षामा व्यापारीकरणलाई बढावा दिने कुत्सित मनसायले रचिएको प्रपञ्चहरु हुन ति कार्यक्रम वा नीतिहरु जस्को पुर्व तयारी गरिएन । अझै पनि गरिएको छैन् । हाम्रा उत्पादन शिक्षाविद,शिक्षा प्रेमी समाजसेवी ,नेतागण,पदीय दायित्व वहन गरेका पदाधिकारीहरुले यसमा विचार गर्ने कि नगर्ने ? खोइ तपाईको विश्लेषण स्वतन्त्र बनेको ? हुन त समाचार र सूचनामा विभेद गर्न नसक्ने समाज ,पस्कने सञ्चार माध्यम सिकाउने हामी सबैले आफ्नो भागको जिम्मा त लिनै पर्छ तर आज बोल्ने पालो शिक्षकको ? प्रश्न सोध्ने पालो शिक्षकको ?

उत्तर तपाइहरुसगँ प्रशस्त छ । उत्तरहरु यी प्रश्न भन्दा शक्तिशाली रुपमा एवम आर्कषक रुपमा आउँनेछन् । किनभने उत्पादन त हाम्रै हो ।सामुदायिक विद्यालयमा अभाव हुदै जावोस् शिक्षकहरुले लापरवाही प्रवृत्तिका र जागिरे मनोवृतिका बनुन् । विद्यालयको शैक्षिक स्तर खण्डित बनोस् । सामुदायिक विद्यालय प्रति अभिभावकको वितृष्णा बढोस् । परिणाम स्वरुप अभिभावक शिक्षाको व्यापारीकरणको चंगुलमा परुन् । कुत्सीत मनसायले युक्त भै तयार गरिने नीतिको पुनः समिक्षा गरी यर्थाथलाई आत्मसात गर्ने कोहि छ ? शिक्षा मन्त्रालयकै तथ्याङ्कहरुकै आधार मान्ने हो भने पनि शिक्षाका विभिन्न नीति तथा अवधारणा पश्चात सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घटेको देखिन्छ । विभिन्न अध्ययनले समेत शिक्षाको स्तर खस्केको देखाएका छन् । सामुदायिक विद्यालयको स्तर खस्केकै छ । दुइमत छैन तर हाम्रो पनि प्रश्न छ । सबैसँग छ । आफैसँग छ ।
क्रमशः
दामोदर शर्मा
शिक्षक,नेपाल राष्ट्रिय मावि किमुचौर,सल्यान

प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार १६:४४