
हाम्रा शिक्षकहरू संज्ञानात्मक चिन्तनमा आधारित छन्, सदियौंदेखि आजसम्म । संज्ञानात्मक चिन्तनको विशेषता के हुन्छ भने, हिजो हामीले घोकेर, कण्ठ गरेर आउँदो बनाउँथ्यौं । तसर्थ आजका विद्यार्थीहरूले पनि रटेरै पढ्नूपर्छ । त्यतिमात्र होइन, उनीहरूको मनोदशा विद्यार्थी खाली टाउको हो, मैले भरिदिनुपर्छ भन्ने किसिमको हुन्छ । धेरै कुरा नभनौं, शिक्षकले घोकाएको कुरा विद्यार्थीले बोक्नुपर्छ भन्ने चिन्तनबाट गुज्रिएका छन्, आजका शिक्षकहरू ।
शिक्षकहरूको यो मनोदशाले सीतालक्ष्मी कमाचार्यको जन्म दिन्छ । त्यस्ता स्वभावका शिक्षकले जहिले पनि विद्यार्थीलाई फलानो पाठ घोकेर आइजो, नत्र तेरो नम्बर आउँदैन भनेर कक्षाकोठा हाबी भइरहन्छ । विद्यार्थीलाई सताइरहन्छन् ।
यो दुई चिन्तनबाट वशीभूत हुँदा कक्षाकोठाहरू यातनागृहमा बदलिएका छन् । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन सकेका छैनन् । सिकाइ ज्ञानको रूपमा बदलिन सकेको छैन ।
वास्तवमा आजको विद्यार्थीहरू निर्माणवाद (कन्स्ट्रक्टिभिजम) बाट शिक्षा ग्रहण गर्छन् । कक्षा कोठामा उनीहरू खाली टाउको भएर आउँदैनन् । उनीहरूसँग विचार हुन्छ । प्रश्न हुन्छ । जिज्ञासा हुन्छ । कौतुहल हुन्छ । र, केही न केही जानेका हुन्छन् उनीहरूले ।
यसर्थ कक्षाकोठामा उनीहरू र शिक्षकको विचारमा मेल खानुपर्छ । विचारमा बेमेल भयो भने द्वन्द्व निम्त्याउँछ । प्रभावकारी सञ्चार हुँदैन । सिकाइमा अवरोध आउँछ ।
आजका शिक्षकले आफूलाई जाँच्नुपर्छ– विद्यार्थी र मेरो विचारले मेल खाएन कि ? मेरो पढाउने शैली मिलेन कि ? सिकाउने तौरतरिका भयो कि भएन ? वास्तवमा आजका शिक्षकहरूलाई यो ज्ञान हुनुपर्छ ।
सीतालक्ष्मीकै कुरा गरौं न, उनीसँग यो दिक्षा रहेन । उनी त प्रतिनिधि पात्र मात्रै हुन् । बाहिरै प्रस्फुटित भएको । हाम्रा कतिपय शिक्षक साथीसँग पनि यो दिक्षा छैन ।
सीतालक्ष्मीजस्ता प्रवृत्ति भएका मानिसहरू शिक्षक हुन सुहाउने पात्र नै होइनन् । उनको ल्याकत पनि त्यहो होइन । जसरी दिनभरि हिँडिरहन झर्को लाग्ने, पट्यार लाग्ने मान्छे हलो जोत्न योग्य हुँदैन । रिसाउने, झर्कोफर्को गर्ने मानिस पनि शिक्षक हुन योग्यता राख्दैन । कक्षा कोठामा रिसाउने मान्छे बक्सर हुन गए हुन्छ । शिक्षक हुन लायक हुँदैन ।
यसैकारण म लामो समयदेखि शिक्षकको ल्याकत जाँच गरौं भनिरहेको छु । यो त्यसै लहडमा भनेको होइन । फ्रान्समा यस किसिमको अभ्यास छ । त्यहाँ शिक्षक हुन कत्तिको योग्य छ भनेर ल्याकत परीक्षण हुन्छ । हामीकहाँ ल्याकत परीक्षणको परिपाटी नै छैन । विषयवस्तु मात्रै जाँचेर कक्षा कोठामा छिराउने चलनचल्ती छ ।
ल्याकतमा फगत ज्ञान मात्रै हुँदैन । सीप हुन्छ । झुकाव हुन्छ । विद्यार्थीहरूलाई कसरी व्यवहार गर्छ, त्यो पनि सन्निहित हुन्छ । विडम्बना शिक्षक नियुक्त गर्ने प्रणालीले यसलाई चिनेन । र, चिन्न आवश्यक पनि ठानेन ।
शिक्षकलाई तालिम दिने प्रक्रिया, प्रणाली पनि भएन । शिक्षकलाई तालिम दिँदा ट्रेनरहरूले विद्यार्थीलाई नपिट, सजाय नदेऊ भन्न जाने । त्यसको विकल्प के हुन्छ ? विद्यार्थीहरूलाई कसरी सिकाइमा ढाल्ने, शिक्षण सिकाइलाई कसरी रुचिकर बनाउने भनेर भन्नचाहिँ जानेनन् । हिजोमात्रै मेरो टिच फर नेपालका फेलोसँग संवाद गर्ने मौका मिलेको थियो । उनीहरूको मुद्दा पनि त्यही थियो– “विद्यार्थीहरूलाई कसरी तह लगाउने ? टेर्दै टेर्दैनन् !”
मेरो जवाफ थियो– “केटाकेटीलाई केही गर्नुपर्दैन । केटाकेटीहरूसँग ऊर्जा धेरै हुन्छ । कुद्न, दर्गुन, चकचक गरिरहन सक्छन् । उसको ऊर्जालाई कसरी उपयोग गर्ने चिन्तनचाहिँ तपाईंसँग हुनुप¥यो ।”
“त्यसका लागि के उपाय हुन्छ ?,” उनीहरूको जिज्ञासा थियो ।
मैले भनेँ, “नसक्ने केटाकेटीलाई तिमीले सक्छौ भनेर उकासौं न । उनीहरूले नाइँनास्ती गरे भने, यसमा नसके त्यसमा त सक्छौ होला भनेर विकल्पको छनोट गर्न पनि दिउँ । त्यसो गर्नेबित्तिकै केटाकेटीलाई म त सक्दोरहेछु भन्ने हौसला हुन्छ । कक्षा कोठामा बढ्ता बोलिरहने केटाकेटी छन् भने सबैभन्दा बढी बोल्न, चिच्याउन कसले सक्छ भनेर थकाउन सकिन्छ । थाकेपछि उसले पढ्न मन लगाउन सक्छ । उफ्रने केटाकेटीलाई पनि सबैभन्दा बढी उफ्रने को हो भनेर हौस्याउँदै थकाउन सकिन्छ । यो किसिमको प्रयोग, तौरतरिका शिक्षकलाई सिकाउनुपर्छ ।”
बालबालिकालाई सिकाइ प्रभावकारी नहुनुमा अभिभावक पनि समस्याका रूपमा छन् । जटिबुटीको हकमा त थोरै बालबच्चा भएका अभिभावक परेका होलान् ।
अन्यत्रको हकमा भने पढाउने भनेकै पिटेर, हप्काएर, दच्काएर, तर्साएर हो भन्ने बुझिरहे । ‘लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् । प्राप्ते षोडशे वर्षे पुत्रे मित्रवदाचरेत्’ भनेर सिकाइरहे । दश वर्षको बच्चालाई ताडना दिएरै सिकाउनुपर्छ भन्ने चिन्तन दिमागमा जरा गाडेर बस्यो ।
ताडनाको अर्थ तालिम दिने, साधना गराउने पो थियो कि ! हामी खोज्नतिर लागेनौं । ताडना भनेको यातना नै हो भनेर अथ्र्यायौं र त्यही कुरा अवलम्बन गर्यौं ।
मेरो विचार, दृष्टिकोणमा त्यतिबेला पुर्खाले पिट्ने भनेका थिएनन् । ताडना भनेको साधना गर्न लगाउने र काममा दत्तचित्त बनाउने हो । गुरुकुलकै भाषा पछ्याउने हो भने एक चौथाइ गुरुसँग सिक, एक चौथाइ साथीसँग सिक, एक चौथाइ विज्ञसँग सिक, बाँकी चौथाइ आफ्नै अनुभवसँग सिकेर ज्ञानगङ्गालाई पूर्ण बनाउनुपर्छ ।
गुरुकुलले अपेक्षा गरेका यी चिन्तन नै पछ्याउने र कार्यान्वयन गर्ने हो भने बच्चाले आफ्नो गतिमा यति सिकेँ भन्न सक्थ्यो ।
सिकाइलाई प्रभावकारी बनाउने थुप्रै तौरतरिका छन् । विधि पद्धति छन् । त्यसमध्ये सजिलो उपाय भनेको कक्षाकोठामा विद्यार्थीको प्रोफाइल राख्ने विधि हो ।
हिजो तिम्रो यति नम्बर थियो, आज तिमीले मिहिनेत गर्दा यति नम्बर आयो भन्दा उसले आफूलाई तुलना गर्न सक्छ ।
ती जडिबुटीकी शिक्षिकाले कक्षाको औसतमा तुलना गरेर थोरै नम्बर आए हात काट्नुपर्छ भनिदिइन् । विद्यार्थीले हासिल गरेको नम्बर थोरै हो कि धेरै हो भनेर उसको सिकाइमा तुलना गर्नुपर्छ । हिजो प्राप्त गरेको नम्बरको आधारमा तुलना गर्नुपर्छ । त्यो चिन्तन शिक्षकमा हाल्न सकिएन । अथवा भनौं प्रोफाइल (व्यक्तिचित्र) बनाउने संस्कारको सुरुआत गर्न सकिएन । शिक्षामा यसैको असर देखिएको हो ।
सुधारको उपाय
अब ल्याकतको परीक्षण नगरी शिक्षकलाई कक्षा कोठामा नपठाउँ । लामो समयदेखि मैले चारवटा कुरा शिक्षकमा हुनुपर्छ भनेर वकालत गर्दै आएको छु । २०७४ मा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा लेखेँ पनि । पहिलो शिक्षक ज्ञानमा निपुण हुनुपर्छ । ज्ञानले परिपूर्ण छैन भने पनि बटुल्न सक्ने खुबी ऊसँग हुनुपर्छ ।
दोस्रो, शिक्षकसँग जीवनोपयोगी सीप हुनुपर्छ । ताकि, उसले बालबालिकालाई गरेर खाने सीपको विकास गरिदेओस् । तेस्रो ऊसँग सकारात्मक चिन्तन हुनुपर्छ ।
यसकारण ऊसँग सकारात्मक चिन्तन हुनुपर्छ । कदाचित् बालबालिकाले पढेर थोरै नम्बर ल्याए भने उसलाई सजायको व्यवस्था गर्ने होइन, यो बच्चालाई कुन तरिका अपनायो भने उसमा सकारात्मक मनोभावनाको विकास हुन्छ भनेर शिक्षकले खोजी गर्नुपर्छ ।
चौथो कुरा सिद्धान्तलाई व्यवहारमा बदल्ने र व्यहारलाई सिद्धान्तमा ढाल्ने खुबी पनि शिक्षकमा हुनुपर्छ ।
शिक्षक विषयवस्तुको ज्ञाता मात्र होइन अनुसन्धाता पनि हुनुपर्छ । नयाँनयाँ खोज, आविष्कार र विद्यार्थीको व्यवहारको अध्ययन गर्ने किसिमको हुनुपर्छ ।
यी गुण भएका शिक्षकहरू छन् भने तिनीहरूलाई राखौं । यी गुण नभएका शिक्षकहरूलाई अहिले नै हटाउन सम्भव नहोला । म किन हट्ने भनेर निहुँ खोज्न सक्छन् । क्षमता अभिवृद्धि गर्ने उपाय पनि छ ।
शिक्षकको गुण थाहा पाउन एउटा अलग्गै एप्सको विकास गर्न सकिन्छ । जसको माध्यमबाट उसले आफूभित्र भएका गुणहरूको पहिचान गर्न सकोस् । म शिक्षकमात्रै हुँ कि अनुसन्धाता पनि हुँ, मसँग सिद्धान्तलाई व्यवहारमा बदल्न सक्ने खुबी छ कि छैन ? म सिद्धान्त र व्यवहारलाई जोड्न समर्थ छु कि असमर्थ छु ? भनेर आफैंले जाँच्न र पहिल्याउन सकोस् । आफूले आफैंलाई जाँचिसकेपछि थप क्षमता विकास गराउन सकिन्छ । तालिम, सीप–कौशल अभिवृद्धि गर्न सकिन्छ ।
विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि विकल्प सुझाइदिनुपर्छ । परीक्षामा विद्यार्थीको नम्बर थोरै आयो । चित्त बुझ्दो भएन । नोक्सान के भयो त ? बजारको निम्ति धेरै नम्बर चाहिन्छ भन्ने अभिभावकसँगको सहकार्यमा त्यसको पनि समाधान खोज्न सकिन्छ ।
अभिभावकहरूलाई बोलाएर घरमा प्रोफाइल राख्नूहोस् भनेर सम्झाइबुझाइ गर्न सकिन्छ– स्कुलमा प्रोफाइल राखिएकै छ । घरमा पनि थालनी गर्नुहोस् र अवधिअवधिमा जाँच्नुहोस् । आफ्नो विद्यार्थीले कत्तिको प्रगति गर्दै गइरहेको छ ? विद्यार्थीको व्यवहारमा, सिकाइमा प्रगति भइरहेको छ । पढिरहेको छ भने पढिरहेको छ लेख्नूहोस् । नभएर त्यही अनुसार मूल्याङ्कन गर्नूहोस् ।
विकल्पकै कुरा गर्दा शिक्षकले यो पनि प्रयोग गर्न सक्छन् । विद्यार्थी मौका पाउनेबित्तिकै उफ्रन थालिहाल्छन् । दौडिइहाल्छन् । उफ्रन जान्ने केटाकेटीलाई उफ्रिएरै भाषा पढाउनुपर्छ । जस्तो स्किपिङ खेल एउटा विधि हुनसक्छ । स्किपिङ (दुवै हातले डोरी समातेर उफ्रने) खेल्दा उसले एक, दुई, तीन गन्न जान्न सक्छ । डोरीमा उफ्रँदा तिम्रो शरीर किन तात्यो भनेर जिज्ञासा पैदा गर्न सकिन्छ । र, खोजीको विषय बनाउन सकिन्छ । यसो गर्दा उसको विज्ञानतर्फ रुचि, लगाव बढ्न सक्छ ।
खस्रो भुइँमा उफ्रँदा गाह्रो हुँदो रहेछ । कस्तो भुइँमा उफ्रँदा सजिलो हुन्थ्यो होला भनेर कौतूहलता पैदा गरिदिन सकियो भने ऊभित्र नयाँ चिन्तनको विकास हुन्छ । यसप्रकारका तौरतरिका शिक्षकमा हुनुपर्छ । ताकि, हरेक हिसाबले विद्यार्थीलाई सिकाइमा ढाल्न सकियोस् । सिकाइ प्रभावकारी पनि होस् ।
शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था छैन । राम्रो गर्ने पनि र नराम्रो गर्ने शिक्षकलाई पनि एउटै नजरले हेरिन्छ । अतः राम्रो गर्ने शिक्षकलाई पुरस्कृत गर्ने र नराम्रो गर्ने शिक्षकलाई दण्डित गर्ने विधिलाई कडाइका साथ लागु गर्दा पनि सिकाइमा प्रभावकारिता थपिन्छ ।
धेरैलाई लाग्न सक्छ, हाम्रा शिक्षकहरू बालमैत्री छन् । यथार्थमा भन्ने हो भने हाम्रा शिक्षक बालमैत्री होइनन् । अपवादलाई बिर्सने हो भने दुई–चारजना होलान् । हाम्रा शिक्षक किताबमैत्री हुन् । पाठ्युपुस्तकमैत्री हुन् । बढी भए पाठ्यक्रममैत्री हुन् ।
बालमैत्री शिक्षकसँग केटाकेटीका कुद्ने, उफ्रने जति पनि रहर हुन्छन्, त्यसलाई पाठसँग जोड्ने र सामञ्जस्य गराउने तागत हुनुपर्छ । बालबालिकाले जे गर्छ त्यसलाई समस्या मान्नुभएन । बालबालिकाका हरेरक क्रियाकलापलाई पाठसँग लगेर जोड्नुपर्छ र सिकाइमा ढाल्नुपर्छ ।
साना उमेरका बालबालिकाले पढ्न मन नगर्नु साझा समस्या हो । उनीहरूले कम नम्बर ल्याउनु साझा समस्या हो । उसले के कारणले पढ्न मन गरिरहेको छैन ? समस्या कहाँनेर छ ? अभिभावकको कुराकानीमा समस्या हो कि, विद्यार्थीको बुझाइमा समस्या हो ? खोज, अनुसन्धानमार्फत् समस्याको निदान गर्ने र पाठमा लगेर जोड्नसक्ने खुबी, कला बालमैत्री शिक्षकसँग हुनुपर्छ ।
अहिलको बालमैत्री शिक्षाको अभ्यासचाहिँ बालबालिकाले खेल्ने मैदान, शौचालयको ढोकामा तलपट्टि छेस्किनी हालिदिएको, चौरीमा खेलसामग्री, उपकरण राखिएको, ¥याम्प बनाएको आदिलाई मात्रै अथ्र्याउने गरिन्छ । बालमैत्रीको भौतिक पाटो त त्यो हो । तर, चेतना र क्षमताको पाटोबाट हेर्दा बालमैत्री शिक्षा बच्चाको गतिसँग मेल खाने हुनुपर्छ ।
यसलाई अझ प्रष्ट भाषामा भन्नुपर्दा, लपेस (सालको पात खुटेर बनाइएको टपरीको नठड्याइएको भाग)मा कनिका खोले पकाएर खान दिएझैं जताजता बग्छ, उतैउतैबाट सोहोरेर खाएजस्तो सिकाइ हुनुपर्छ ।
अभिभावकको भूमिका
आजका अभिभावकलाई हिजोका अभिभावकसँग तुलना गर्न मिल्दैन । हिजोका अभिभावकहरूले मैले मेरो केटाकेटीलाई हेनुपर्छ भनेर चिन्तन गरेको पाइन्छ । भेट्टाउन सकिन्छ । आजको अभिभावकको चिन्तन ठ्याक्कै उल्टो छ । मसँग पैसा छ, ट्युसन हालेकै छु, पढाउने काम शिक्षकको हो भनेर जिम्मा लगाउने गर्दा रहेछन् ।
कार्यालयबाट घर गएपछि पनि केटाकेटीसँग खेल्ने, ठट्टा गर्ने फुर्सद छैन । कम्प्युटर खोल्नुपरेको छ कि, किताब पढ्नु परेको छ कि, व्यापार, व्यवसाय गर्नुपरेको छ कि, उसैलाई बितेको छ । बालबच्चाहरू ‘अनवान्टेड कमोडिटी’जस्ता भएछन् । कस्तो भने, चाहिएको पनि छ, भएर पनि अप्ठ्यारो भएको छ ।
धनी अभिभावकहरूको त फुर्सदै छैन । गरिब, निम्न आय भएको अभिभावकले पनि धेरै समय दिँदैन । निम्नस्तरका अभिभावकले त तौरतरिका पनि जानेको हुँदैन ।
अभिभावको भूमिका देखाउन खोज्ने मध्यम वर्ग पनि अलमलमै छन् ।
एउटा अनुभव बताउँ । बालबच्चालाई तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्नुपर्दो रहेछ । हामीले भक्तपुरमा प्रयोग गरेर पनि हे¥यौं । बच्चाले निकै अनौठा र आश्चर्यले भरिएका प्रश्नहरू बोकेर आउँछन् ।
एकजना अभिभावक आफ्नो अनुभव सुनाउँदै थिइन्– “मचाहिँ बाहुनकी छोरी हुँ । मैले नेवारसँग अन्तरसांस्कृतिक विवाह गरेँ । दुईवटा बच्चा छन् । बच्चाबच्चीले सधैँ ‘मामाघरमा जाँदा सबैले नाकमा फुली लगाएका छन् । तपाईंको नाकचाहिँ किन बुच्चै छ ?’ भनेर प्रश्न गर्छन् ।”
बच्चामा जुनखालको सांस्कृतिक कौतुहलता छ, त्यो बारेमा बुझाउन सकिनँ भन्ने उहाँको पिरलो थियो ।
मैले उहाँलाई सामाजिक, धार्मिक, विविधता र भिन्नताका बारेमा बुझाउन सकिने उपाय सुझाइदिएँ । दुई परिवारबीचको अन्तरधार्मिक– सांस्कृतिक पाटो बुझाएर नयाँ सांस्कृतिक चिन्तनको विकास गर्न सकिनेबारे बुझाएँ । र, बच्चाबच्चीको प्रश्नबाट नपन्छन आग्रह गरेँ ।
हिजोआज अभिभावक निकै व्यस्त छन् । तर अभिभावको व्यस्तताबारे बालबच्चाले बुझेकै छैनन् । बरु समय नदिएको, आफूलाई नटेरेको गुनासो रहिरहन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन बालबच्चालाई आफू काम गर्ने कार्यालय, ठाउँमा लैजान सकिन्छ । ताकि बालबच्चाले अभिभावकको व्यस्तता, मर्का बुझ्न सकून् ।
मोबाइल, टीभीबाट कसरी छुटकारा दिलाउने ?
किताबले एउटा कुरा दिन्छ । मोबाइल, टीभीले दशवटा कुरा दिन्छ । त्यसकारण सबै बालबालिकाको ध्यान, आशक्ति त्यतै छ । अर्को, बालबालिकासँग अनेक जिज्ञासा हुन्छन्, एउटा किताबले समाधान दिँदैन । धेरै किताब बोक्न उसलाई झ्याउलो हुन्छ । मोबाइलले उसलाई आनन्द अनुभूत गराउँछ । रंगीचंगी दुनियाँमा प्रवेश गराउँछ ।
बालबालिकाको यस्तो मनोविज्ञान बुझेपछि मैले केही पुस्तक प्रकाशकसँग कुराकानी पनि गरेँ– अब (टकिङ) कुराकानी गर्न मिल्ने भिजुअल बुक पनि निर्माण गरौं । ताकि, बालबालिकाले कुराकानी गर्दै पढून् ।
त्यसो गर्न सकियो भने बालबालिकालाई आकर्षण पैदा गर्न सकिन्छ । उनीहरूले नवीनताको खोजी गर्न पनि पाउँछन् ।
मैले किन यसो भनेको हुँ भने, अहिलेका केटाकेटीको क्षमता अद्वितीय छ । तिलस्मी छ । एकातिर टीभी खोल्छन्, अर्कोतिर ग्याजेट समात्छन् । मोबाइल पनि चलाएकै छ, हातमा किताब पनि लिएकै छ । सबैतिर भ्याइ पनि राखेको छ । यस्ता अद्भूत केटाकेटीलाई यसो नगर, त्यसो नगर भनेर विमुख राख्न खोज्नु भनेको क्षमता मार्नु हो ।
चनाखो हुनुपर्ने कुरा यत्ति हो, उसलाई लत लाग्न दिनु भएन । छोराछोरीले मोबाइलमा के हेरिरहेका छन् भनेर पनि उत्तिकै चनाखो हुनुपर्छ । मोबाइलमा हेरिरहेको सामग्री बालबालिकाको रहरसँग सम्बन्धित छ कि, पाठसँग सम्बन्धित छ कि, रुचिसँग सम्बन्धित छ कि भनेरचाहिँ सोध्नुपर्छ र त्यसलाई पाठसँग जोड्ने तरिका अपनाउनुपर्छ ।
आजको दुनियाँमा ग्याजेट्सबाट बालबालिकालाई अलग गर्न सकिँदैन । बरु शिक्षण सिकाइ क्रियाकलाप नै ग्याजेटमा आधारित बनाउनुपर्छ ।
(बाह्रखरीबाट साभार)
प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार २२:२३