हटारूका ३८ वर्ष पुराना अतीतका पाना पल्टाउँदा

संस्मरण ।

विसं २०३९ साल पुस माहिना, जाडो मौसम, कक्षा ५ उतीर्ण गरेर कक्षा ६ मा प्रवेश गरेको थिएँ। हाट को को जाने हाम्रो पारिवारिक निर्णयमा जेठा दाईसँग जानेमा १४ बर्षिय बालक म छनौट भएछु। आठ वर्षको उमेरमा विद्यालयका शिक्षकको पहलमा विद्यालय जाने अवसर पाएछु। गुरुको पहल नभएको भए मलाई पढ्ने चिट्ठा पर्दैनथ्यो र गोठालो हुन्थेँ हुँला। कृषक परिवारको मेरो घरमा कठिनतम काम गर्नुपर्ने हुनाले शारिरिक श्रममा म सानैदेखि अभ्यस्त भइसकेको थिएँ। हाट जाने कुरा सुनेर म आशचार्यले दङ्ग थिएँ।

हाम्रो २४ जनाको’ संयुक्त परिवार थियो। हाम्रो परिवारमा नगद हजुरआमाले राख्ने र खर्च गर्ने भएकोले मातृसत्ताको अवशेष थियो। मेरा चार भाइ बाबामध्ये ‘मेरो बाबा भाइसँग अंशवण्डा गर्ने समयमा ६३ वर्षका थिए। मसँग ठूलो परिवारमा बसेको काम गरेको अनुभव थियो। जसले कमाउछ त्यो कमाइ घरका मुलिलाई बुझाउने चलन भएकाले स्वार्थहिनताको अवस्था थियो त्यो बेला

विहान घाम छिपिदै थियो। पुस महिनाको घामले जिउलाई न्यानो बनाउदै थियो। मैले बोक्ने डोकोमा एउटा घिउको टिन (वाकस ), पिठोको थैलो र मकैको खाजाको पोको देखेँ। दाइले एउटा कम्बलको गादो बनाइदिए। गादो जोड्ने ठाउँमा फलामको सुइराले छेडेर जोडीदिए र कम्बलको गादो जिउमा भिरेपछि म डोको बोक्न तयार भएँ। डोको त मैले सानै देखि बोकेँ तर खकन्ना भिरेर डोको बोकेको पहिलो अनुभव थियो। खकन्ना कुममा भिरेँ र नाम्लोको मुर्‍यालो टाउकोमा राखेँ। जैसीलाई पात्रो हेराएर निश्चित गरिएको त्यो दिनमा तोकिएको साइतमा डोको बोकेँ, लठ्ठी समाएँ र हिडेँ। हटारुको २६ जनाको समूहमा मिसिएर दुली गाउँको ओरालो झरेँ।

पहिलो दिन तयारी गर्दा ढिला हिडेको कारण हाम्रो हटारुको समूह नजिकै बास बस्नुपर्‍यो। दुली गाउँबाट हिडेको हामी पहिलो दिन मुग्लु खोला किनारमा सोलावाङ नजिक रहेको एउटा ओढारमा बास बस्न पुग्यौँ। मेरो लागि ओढारमा बास पहिलो अनुभव थियो। विहान सबेरै उठ्यौँ। पुसको जाडोमा खोलाको पानीमा हिड्नु पर्ने वाध्यता थियो। खुट्टामा जुत्ता चप्पल कसैको थिएन। मैले खाली खुट्टा पानीमा टेकेँ। जाडो मौसम भएपनि मैले कुममा च्यातिएको पातलो सर्ट र पछाडी टालो हालिएको हापपैन्ट जसलाइ जाङे भनिन्थ्यो लगाएको थिएँ। हाम्रो गाउँमा कक्षा ७ सम्म मात्र पढ्ने बिद्यालय भएकोले वि. सं. २०४१ सालमा विरेन्द्र मा.वि. वाँफिकोटमा कक्षा ८ मा पढ्न जाँदा मात्र चप्पल लगाएको अनुभव छ भने वि. सं २०४४ सालमा आइ.ए. पढ्न घोराही पुग्दा मात्र पैन्ट लगाएको अनुभव छ।

सिम्रुत हुदै खारा गाउँको उकालो चढेर दलसिङे लेक पुग्यौँ। त्यहाँवाट ओरालो झरेर तिखेचुला गाउँ पुगेपछी मेरो भारी अलि हलुँगो भयो किनकि मैले बोकेको पिठो र खाजा पछि फिर्ता हुदा लिने गरि त्यहि गाउँको एउटा घरमा छोडियो। दोस्रो दिनको बाँस रोल्पा जिल्लाको तिखेचुला गाउँ नजिकको खोलाकिनारको सुपे ओढारमा हुने निश्चित भएपछि मैले हटारुलाई उछिन्न थालेँ। म जाँगरिलो थिएँ। बास बस्ने समयमा सबै हटारुलाई उछिनेर अगाडी जान्थेँ र बास बस्ने ठाँउमा पुगेर दुई भाइको लागि डोको राख्ने र सुत्ने ठाँउ रोज्थेँ। यताउति गएर दाउरा बटुलेर ल्याउथेँ। हत्केलमा नै हातले सुन्दर मकैको रोटी बनाउथेँ। प्राय रोटी बनाउन मलाई भनिन्थ्यो। एकजना हटारुले एक छाकमा ३ वटा रोटी मात्र खान पाउथे। दिउँसो एकजनाले २ अञ्जुली मकैको खाजा खान पाउथे। संगोलका साझा खाने बस्तुमा साझा नियम हुन्थ्यो। रोटी बनाउने भान्सेले भाग लगाइ बचेको रोटी खान पाउथ्यो जसलाई च्याँसे भनिन्थ्यो। च्याँसे कहिले बच्थ्यो कहिले बच्दैनथ्यो।

तिखेचुलाको ओढारको बास रमाइलो भयो किनकी म अघि आएर आफू र दाइका लागि बिचको ठाँउ रोजेको थिएँ। जाडो समयमा बीचमा सुत्दा न्यानो हुन्थ्यो। ओछ्याउने र ओढ्ने गादो बनाएको त्यही कम्बल हुन्थ्यो। म बिहानै उठेँ, खाना खाएर नै हिड्ने योजना थियो। २/३ जना हामी भान्सेहरुले आगो फुक्यौँ। यात्राभरी सुकेको तोरिको साग र गाभाको तरकारी हुन्थ्यो। मैले मकैको रोटी बनाएँ। अरु एकजनाले रोटी पोल्न सघाए। रोटी खाएर हामी विहान चिसो खोला वारिपारि गर्दै जिनाबाङ पुग्यौँ। त्यहाँबाट रोल्पाको झिन्ना लेकबाट ओरालो तल झरेपछि हटारूहरु तेस्रो दिनको बासको सरसल्लाहमा लागे।

तेस्रो दिनमा ओढार नपाइने र कुनै खुल्ला ठाउँमा बास बस्ने कुरा भयो। हामी रोल्पाको राइवाङ नजिक एउटा काल्नोमुनी खुला ठाउँमा बास बस्यौँ। राइवाङमा जडिबुटी खरिद गर्ने पसलहरु रहेछन। त्यस ठाउँमा जडिबुटीको बासनाले मलाई नयाँखाले अनुभूति भयो। त्यहाँबाट नुवागाउँ हुँदै भाङावारीको उकालो चढ्यौँ। हाम्रो समूहका पाकाहरुले उहिले हाट नेपालगञ्ज, कोइलाबास गएको कथा सुनाउथे। पहिलो पटक हाट जानेलाई उछिट्टे भनिन्थ्यो। म त्यो हाटमा उछिट्टे थिएँ। उछिट्टेले अरु हटारूलाई कोसेलीको रुपमा एक टपरी कसार लिइदिनुपर्थ्यो। ठूलो उकालोमा उछिट्टेहरुलाई अरु हटारूहरुले ख्यालठट्टा गरेर जिस्काउने चलन थियो। जसलाई उछिट्टे नचाउने भनिन्थ्यो। यो हाटमा कामे खत्री र म दुई जना उछिट्टे थियौँ। भाङावारीको उकालोमा रमाइलो भयो। त्यहाँबाट दहवन होलेरी हुँदै कागपानीमा बास बस्ने निधोमा हटारूहरुको समूह पुग्यो।

बिहान कगपानीबाट सुन्दर दाङ्गको फाँट नियाल्दै ओरालो झर्यौँ। तल बेसीमा झरेपछि सालको जंगलमा घोराही बजार बसुन्जेल पुग्ने दाउरा बटुल्यौँ। डोकोमाथि दाउरा राखेर घोराही बजार तर्फ सोझियौँ। पाँचौ दिनको बिहान तिर बगाले हुँदै घोराही बजार पुग्दा साहूका २ जना मान्छेले आफ्नो पसलमा लिन डाक्दै तानातान गर्न थाले। हाम्रा माझी (समूह नेता) ले हामीलाई ढक्कलको पसलतिर लिए।

ढक्कलको पसलमा दाङ्ग बसुन्जेल रुकुमबाट धान झुलेको दाङ्ग झरे पनि भात नखाएर रुकुमकै मकैको रोटी खाइन्थ्यो। हाम्रो बसाइ ढक्कलको पसलको माथिल्लो तला थियो। तीन दिनको बसाइमा एक छाक मात्र भात खाएको सम्झना छ। हाम्रो समूहमा सबै गौतम बाहुन समुदायका थिए तर गौतम बाहुनमा पनि कोहि खत्री र कोहि जैसी थिए। बाहुन समुदायमा बाहुनले बाहुनी बिहे नगरेर खत्रिनी बिहे गरेमा एक तह तल झर्ने चलन रहेछ। हाट आएको समयमा कोहि खत्री थिए त कोहि जैसी। एउटै कुलमा पुजा गर्ने भाइहरु भएपनि खत्रीले पकाएको जैसी बाहुनले नखाने भएकाले भात जैसी बाहुनले पकाउने गर्थे। खत्रीलाई चुलो छुट दिइन्नथ्यो।

म खत्री भएकाले रोटी बनाए जस्तो चुलोमा बस्नु परेन। अर्कैले पकाएको भात अलग बसेर खाएँ। वि.सं. २०३९ सालमा हाट आएको त्यो ढक्कलको पसलमा पछिका दिनहरुमा मेरो घोराहि बसाइको क्रममा धेरै चोटी भित्र पस्ने र हेर्ने गर्थेँ तर बिशेष रुपमा मैले वि.सं. २०७६ साल पुस महिना सडकमा हिड्ने क्रममा ३७ वर्षपछि त्यहि पसल हेर्न पाएँ। त्यो पसल नजिक सडकमा उभिएर यताउति हेरेँ र ३७ वर्ष अघिको सम्झना गरेँ। मनले मानेन र भित्र पसेँ। त्यो पसल ३७ वर्ष अघिकै स्वरुपमा थियो। पसलमा एक जना बृद्द थिए। ढक्कलको नाम लिएँ, उनले मेरो मामा हुन् भने। साथै उनले रुकुमका केहि ऋणीहरुको नाम लिए र कपडा उधारो लिएको ऋण नबुझाएको कुरा गरे।

त्यो बेला भिडभाड हुने त्यो पसल यो बेला सुनसान थियो। उनले त्यो घर रोल्पालीको भएको र आफू र आफ्ना मामा भाडामा बसेको बताए। घोराही को सैनिक ब्यारेक आक्रमण पछि युद्धको समयमा आफ्ना छोराहरु पसल छोडेर भारत आफ्नै पुर्ख्यौली ठाउँतिर गएको बताए । हाट जाने समुहमा एक जना नेता हुन्थ्यो जसलाइ माझी भनिन्थ्यो। माझीलाई घोराही पसलको साहूबाट एउटा कपडा पगरी गुथ्नलाई सित्तैमा दिइन्थ्यो। हाम्रो समुहका माझी नरसिंह खत्रीले त्यो सुबिधा प्राप्त गरे। त्यो बेला पढ्नलाइ पाठ्यपुस्तक घोराही बजारबाट लिनुपर्थ्यो। मैले कक्षा ६ र ७ को किताब घोराहीबाट रुकुम लिएर पढेको हुँ। ३ दिनको घोराही बसाइ पछि ७ नम्बर (३५ के जि.) नुन, कपडा, मलाइ कक्षा ६ का किताब ,कापी र भेली लगायतका सामान डाेरिको जालिद्वारा छोपिएको डाेकोमाथि सम्मको गह्रुगो भारी कसेँ र बोकेँ। काग पानीको उकालोमा डाेकोलाइ अडेस लगाएर एकमिनेट विश्राम लिइन्न्थ्यो।

भारी अडेस लगाएर उठ्दा लठ्ठीले पछाडि डोकोको फेदमा ठोक्ने चलन थियो, मैले त्यही गर्थें जसले गर्दा अड्किएको माटो ढुङ्गा झरोस्। उही बाटो घर पुग्ने सपना बुन्दै हिडेको थिएँ। हिडाइको क्रममा उकाली ओराली गर्दै रोल्पा र रुकुमको सिमाना दलसिङे पुग्दा लेकमा हिउँ परेको थियो। दलसिङे लेकवाट ओरालो जङ्गलको बाटो हुँदै खाराको गाउँतिर झर्नु थियो। हिउँको वाटो उकालो चढ्न सजिलो भयो तर ओरालो झर्न चिप्लिने डरका कारण कठिन थियोे। गह्रौं भारी बोकेर लठ्ठीले जिउ रोक्दै अप्ठ्यारो र साघुँरो हिउँको बाटो पूरा गरेर रुकुमको खारा गाउँको शिरमा पुगियो जहाँ एउटा गोठमा बास बस्ने अवसर मिल्यो। हिउँ पगालेर पानी बनाइ खाना पकाइयो।

हामी १४ औं दिनमा घर पुग्दै थियौँ । हामी घर भेटाउन आफ्नै गाउँ दुलीको ठुलो उकालो चढ्नुपर्थ्यो। घर पुग्नेदिनमा गाउँदेखि तलको खोलामा हातखुट्टा सफा गर्ने काम भयो। मेरो हात र खुट्टामा जमेको कालो मैलो ढुङ्गाले घोड्दा पनि गएन। हाट गएर आएको हटारुलाई २ दिनसम्म विश्राम हुन्थ्यो र खाना घ्यू भात दिइन्थ्यो। मैले त्यो सुबिधा लिने मौका पाएँ र हाट नगएका आफू समकालीनका साथीहरुलाइ अनुभव सुनाउने मौका पाएँ। मैले वि.सं. २०४२ सालमा कक्षा ९ मा पढ्दा मात्र थाहा पाएँ, यो कठिनतम दु:खका दिन भोकै काट्ने र भारी बोकेर ओढारको बास बस्ने समयमा नेपालमा राजाको नेतृत्वमा पञ्चायती व्यवस्था रहेछ। त्यही परिवेशमा त्यो बेलादेखि मैले देश लेख्न शुरु गरेँ।

लेखक नदिराम केसी  सिद्धार्थ जनता मावि बाफीकोट ६ मग्माको प्रधानाध्यापक हुनुहुन्छ। 

  • 82
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close