श्रमशिल जनशक्तिलाई कृषि र पशुपालनमा आकर्षित गर्न जरुरी छः दिलमाया

कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्ने कुमाख गाउँपालिका जिल्लाकै दुर्गममा रहेको गाउँपालिका हो । पर्यटकिय स्थलको कुमाख लेखको काखमा अवस्थित कुमाख गाउँपालिकासाविकका पाँच गाउँ विकास समिति जिमाली, स्विकोट, मर्मपरिकाँडा, कालागाउँ र वडागाउँ मिलेर बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट विजयी भएकी दिलमाया बुढा सृजनाले अहिले गाउँपालिकाको अध्यक्षको रुपमा छुट्टै पहिचान बनाएर काम गरिरहेकी छन् । हक्की, निडर र शालिन व्यक्तित्वका रुपमा पार्टी भित्र र बाहिर परिचित छन् । 
२०३५ साल मंसिर ८ गते पुर्वि रुकुमको चौरजहरी नगरपालिका वडा न १० मा काइली छोरीको रुपमा जन्मिएकी बुढा २०५४ सालमा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको शसस्त्र द्धन्द्धमा भूमिगत भएकी थिइन । २०५५ सालमा सल्यानको कालागाउँमा विवाह गरेकी बुढाले द्धन्द्धको समयमा २०५६ सालमा आफ्नो जीवनसाथी गुमाएकी छन् ।
हाल नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य र गाउँपालिका महासंघकी केन्द्रिय कोषाध्यक्ष समेत रहेकी बुढा २०७४ सालमा भएको स्थानीय तहको चुनावमा विजयी भएको दुई वर्ष वितिसक्दा यस अवधिमा के के काम भएत भन्ने बारेमा कभरखवर टिमले गरेको कुराकानी ।

निर्वाचित भएको दुई वर्षमा आइपुग्दा कस्ता कस्ता काम गर्नुभयो ? महत्वपुर्ण पाँच काम ?

हामीले स्थानीय तहको निर्वाचनको समयमा जनतासाँग अस्वभाविक र पुरा गर्न नै नसकिने बाचा तथा प्रतिवद्धता व्यक्त गरेका थिएनौ । जनताका जनजीविकासँग जोडिएका विषयलाई हामीले पहिलो प्राथमिकता दिएर चुनावको समयमा जनताको घरदैलोमा पुगी परा गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौ । जसअनुसार महत्वुपुर्ण ५ कामहरुलाइ भन्नुपर्दा गाउँपालिकाको लगानीमा पश्चिम रुकुमको चौरजहारी देखि गाउँपालिकाको केन्द्र रागेचौरसम्म विद्युत विस्तार गरिएको छ । जसले गर्दा गाउँपालिकामा विद्युत वाल्ने ठुलो सपना पुरा भएको छ । चारवटा सामुदायिक स्वास्थ्य इकाई संचालन गरेर जनताको स्वास्थ्यप्रतिको संवेदनशिलतालाई सम्वोधन गरिएको छ । सल्यान खलंगादेखि रागेचौर सम्मको सडक खण्ड स्तरोन्नती गरी बाह्रै महिना गाडि संचालन हुने बनाइएको छ । खोलामा सडक हुँदा ६ महिना मात्रै सडक संचालन हुदै आएको अवस्था फेरिएको छ ।
यस्तै गाउँपालिकाको भवन र १५ शैयाको गाउँपालिका अस्पतालको इविडिङ्ग गरी निर्माण कार्य शुरुवात भएको छ । कृषि उत्पादनलाई प्रर्वद्धन गर्न एक घर एक टनेल कार्यक्रमको कार्यान्वयन गरिएको छ । पशुपालनमा जोड दिदै मासु, अण्डा र दुधमा आत्मनिर्भर गाउँपालिका बनाइएको छ । यस्तै भैँसिको पालक किसानहरुलाई भत्ता दिइएको छ । भने छोटो समयमै वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाहमा चुस्तता ल्याएका छौँ ।  जनतालाई प्रदान गरिने सेवाहरु चुस्तदुरुस्त गरेका छौ । सडक विस्तार, शिक्षा, स्वास्थ्य तथा सरसफाईमा लागि परेका छौ ।

विशेषगरी महिलाकै लागी भनेर केहि काम गर्नुभएको छ की ?

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी सीपमुलक कार्यक्रमहरु जस्तै सिलाइकटाइ, मुढा बुनाइ, होजेरी तालिम, सुधारिएको चुल्हो लगायत महिलाहरुलाई कृषिमा विशेष जोड दिइ उनिहरुको आर्थिक उपार्जनमा जोड सहयोग पुग्ने कार्यक्रम संचालन गरिएको छ । यहाँकका महिलाहरु अहिले पनि पछाडि छन् । उनिहरुको चेतनास्त माथि उठाउनका लागी हामीले शिपमा आधारित चेतनास्तर वृद्धिको कुरालाई अघि बढाएका छौँ ।
महिलाकै लागी भनेर अध्यक्षसँग दिदिबहिनी कार्यक्रम राखेर महिलाहरुका खास समस्या, भुमिका, अवसर तथा अहिलेको अवस्थाका बारेमा वहस तथा छलफल पनि चलायौँ हामीले जसले गर्दा प्रत्यक्ष रुपमा उनिहरुका आवश्यकताहरु के हुन भन्ने वोध भएको छ र योजनाहरु पनि सोहि ढंगले बनाएका छौँ ।

महिला प्रमुख भएकै कारण समस्या छ की छैन ?

महिला भएकै कारणले त्यस्तो कुनै समस्या भएको छैन । संविधानमा उल्लेखित अधिकारलाई स्थापित गर्न आम रुपमा समस्या देखिएको छ । पुरुषप्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा फरक भएतापनि अधिकार र अवसरको प्रयोग सहि ढंगले अगाडि बढाउन सक्ने क्षमताको विकास भएको छ ।

तपाइलाई पुरुष प्रमुख भएको स्थानिय तहमा भन्दा यो फरक काम ग¥यौँ भन्ने केहि लागेको छ ?
निर्वाचन प्रकृयामा महिला प्रमुख भई निर्वाचित भएदेखि समावेशिकरणलाई ध्यान दिइ कार्यसम्पादन गर्न लागिपरेकी छु अनि विभेदरहित ढंगले काम कारवाहिहरु अगाडि बढाइरहेकी छु भन्ने लागिरहेको छ ।
तरपनि पुरुषप्रधान समाजमा महिलाले गर्न सक्दैनन भन्ने बुझाई दृष्टिकोण अहिले पनि छ त्यो दृष्टिकोणलाई चिर्नु मेरो पहिलो चुनौती हो । अवसर दिने हो भने महिलाले पनि काम गर्न सक्छन है भन्ने सन्देश मैले दिन सकेकी छु । पुरुषहरुले नगरे पनि गरे भन्ने र महिलाले गरे पनि गर्न सकेनन भन्ने जुुन बुझाई छ त्यो बुझाई बदल्नु आवश्यक छ । स्वाभाविक रुपमा चुनौती हुन्छन ती चुनौतीलाई अवसरको रुपमा लिदै संघर्ष गर्दै अघि बढ्ने कुरा नै मुख्य विषय हो ।
खासगरी गाउँपालिकाका सवै पक्षलाई एकढिक्कासँग मिलाएर लैजानसक्नु अनि जनतालाई लोकतन्त्रको अनुभुति दिलाउन सक्नु नै मैले गरेको उल्लेख्य काम हो ।

 

अन्त्यमा,

यस गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने तपाइको एजेण्डा के हो ?

कुमाख गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने एजेण्डा भनेको यहाँको आन्तरिक स्रोत साधनलाई बढि भन्दा बढि प्रयोगमा ल्याई जनशक्तिको अधिकतम प्रयोग हो । कृषि, पशु र पर्यटनको माध्यमबाट नै यस गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने एजेण्डा रहेको छ । यो गाउँपालिका भनेको अन्नको भण्डार भएको गाउँपालिका हो ।
कृषिलाई मात्र हामीले पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्यौ भने यो गाउँपालिका समृृद्ध हुने छ र हामी त्यसलाई जोड दिदैछौ । जिल्लाकै प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको कुमाख लेखमा पर्यटक भित्र्याउन सक्यौ भने पनि यो गाउँपालिका समृद्ध गाउँपालिका बन्न सक्छ । यहाँको श्रमशिल जनशक्तिलाई कृषि र पशुमा आर्कर्षित गर्न जरुरी छ । सोह अनुसार योजना बनाएर अघि बढिरहेका छौँ ।

प्रकाशित मिति: ११ पुष २०७६, शुक्रबार १४:२८