
सल्यान- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनविच विकास योजनाका विषयमा छलफल भएको छ । सल्यानको कपुरकोटमा भएको भेटमा राप्ती लोकमार्ग अन्तर्गत जिर्ण बन्दै गएको दाङ सल्यान सडकको दुरावस्थाका विषयमा छलफल भएको थियो । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेको सेनले योजना आयोगका उपाध्यक्ष कँडेलललाई राप्ती लोकमार्ग जीर्ण भइ यात्रा कष्टकर भएको भन्दै नागरिकहरुले पटक पटक गुनासो गर्दा पनि स्तर उन्नती हुन नसकेको बताएका थिए । सेनले प्रश्न गर्दै भने, तपाइले यो सडकको बेहाल देखिहाल्नुभयो, सडक राम्रो बनाउनेतर्फ हाम्रो सल्यानबाट प्रतिनिधित्व गर्ने माननीयज्युहरुको पहल हुन नसकेको हो की, राष्ट्रिय योजना आयोगको ध्यान पुग्न नसकेको हो ?
जवाफमा आयोगका उपाध्यक्ष कँडेलले प्रत्यक्ष रुपमा आफुहरुले विग्रीएको सडकको अनुगमन गरेकोले यसको सुधारका लागि तुरुन्तै काम अगाडी बढाउने प्रतिबद्धता जनाए । यसका लागि सडक डिभिजन दाङसंग आवश्यक छलफल गरिने पनि उनले बताए । यस्तै भेटमा प्रधानमन्त्री केपि शर्मा ओलिका विकास विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले अव पहुँचको आधारमा नभइ आवश्यकताको आधारमा विकास हुने बताए । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आवश्यकताका आधारमा विकास गर्ने नीति अवलम्बन गरेको विकास विज्ञ थपलियाको भनाइ छ ।
सो क्रममा गाउँपालिका अध्यक्ष सेनले कपुरकोट गाउंपालिकाका केही महत्वपुर्ण योजनाहरु राष्ट्रिय योजना आयोगमा माग गरिएको जानकारी गराएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले प्राप्त योजनाहरु छनौट र कार्यान्वयनका लागि सकारात्मक प्रतिक्रिया दिँदै कतिपय विषयमा प्रतिबद्धता जनाएका थिए । कम्तीमा पनि दिर्घकालिन महत्वका दुई वटा योजना यस आर्थिक वर्षमा सञ्चालन गर्न सकियो भने पनि त्यसको परिणाम राम्रो हुने भन्दै उनले त्यसमा आफु प्रतिबद्ध रहेको जनाएका थिए ।
प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलवार ०७:२५