मन्त्रालयबाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर लगाएतका सामग्री प्राप्त

सल्यान, २८ साउन ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको स्वास्थय सामग्री सल्यानको कपुरकोट गाउँपालिका सम्म आइपुगेको छ । कोभिड नियन्त्रणका लागि भन्दै गाउँपालिकाले विभिन्न स्वास्थ्य सामग्रीको माग गरी मन्त्रालयमा पत्र पठाएको थियो ।

मन्त्रालयले १० लिटरको २ पिस अक्सिजन कन्सन्ट्रेटर, ५० लिटरको ५ थान अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर ५ पिस उपलब्ध गराएको छ । यस्तै एन्टीजिन किट ३०० सेट, भीटीएम ४०० पिस, गाउन सेट ९८ पिस, फेस सिल्ड ५० पिस प्राप्त भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अन्य स्वास्थ्य सामग्रीहरुमा मास्क, सेनीटाइजर, सर्जिकल क्याप, गमबुट, थर्माेमिटर, गाउन सेट, गाउन सेट लगाएतका रहेका छन् ।

स्वास्थ्य सामग्रीहरु काठमाण्डौँबाट गाउँपालिका सम्म ल्याइ पुर्याउनका लागि व्यवशायी तथा तरुण दल सल्यानन क्षेत्र नं २ का सभापति यगराज वली, उपसभापति सन्तोष बुढाथोकी, युवा व्यवशायी प्रकाश घर्ती लगाएतले सहयोग तथा समन्वय गरेका थिए । युवा व्यवशायीहरुले सामग्री ढुवानीमा सहयोग र काठमाण्डौँमा आवश्यक समन्वय गरेका थिए । स्वास्थ्य क्षेत्रको विकास तथा कोभिड नियन्त्रणका लागि सबै पक्षको साथ तथा समन्वय आवश्यक रहेको जनाउँदै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सहयोगका लागि युवा व्यवशायीहरुलाई धन्यवाद ज्ञापन गरे ।

कोभिडले पालिकामा अव फेरि निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै तयारि अवस्थामा रहेको उनको भनाई छ । आफ्नो पालिकामा कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न स्वास्थय मन्त्रालय संगै बुद्धिजीवी, व्यापारि, नागरिक समाज लगाएत जिम्मेवार सबै पक्ष र निकायसंग समन्वय गरिरहेको अध्यक्ष सेनले बताए ।

 

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहीबार १६:३७