कभर खबर

  • २२ कार्तिक २०७८, सोमबार २०:१६

भैलोको रकम प्रतिक्षालय निर्माण र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा


सल्यान, २२ कार्तिक ।


सल्यानको त्रिवेणी गाउँपालिकामा युवाहरुले देउसी भैलो खेलेर जम्मा भएको रकम सामाजिक काममा लगाएका छन् । त्रिवेणी १ मा रहेको गोगने युवा समूहले यस वर्षको तिहारमा देउसी भैलो खेलेर जम्मा भएको एक लाख ३० हजार ५२० रुपैयाँ सामाजिक काममा लगाएको जनाएको छ । समूहका संयोजक दिपेन्द्र बुढाले संकलित रकम मध्ये ३० हजार रुपैयाँ गाउँघरमा विवाह, ब्रतबन्धमा आवश्यक पर्ने भाडावर्तन खरिद गरिएको बताए । बाँकी रकम प्रतिक्षालय निर्माणमा खर्च गरिने उनले जनाए ।


कर्णाली र लुम्बीनी प्रदेशको सिमानामा रहेको त्रिवेणी १ स्थित पर्यटकीय सम्भावना बोकेको करेलेचौरको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले भैलोको केही रकमबाट वनभोजको कार्यक्रम पनि गरिएको आर्थिक संयोजक मोहन खड्काले जनाए । उनका अनुसार २० हजार रुपैयाँ मात्र भोजका लागि खर्च भएको छ । ‘निकै मनोरम स्थल करेलेचौरको प्रचारप्रसारका लागि सोमबार पिकनिकको आयोजना गरेका हौँ,’ उनले भने, ‘बाँकी ८० हजार ५२० रुपैयाँ प्रतिक्षालयमा खर्च गर्ने निर्णय गरेका छौँ ।’ गोगनेमा प्रतिक्षालय निर्माण गर्नका लागि भैलोको रकम संगै जनश्रमदान पनि जुटाइने उनको भनाई छ ।


तेज बहादुर पुनको अध्यक्षतामा सोमबार भएको वनभोज कार्यक्रममा बोल्ने वक्ताहरुले गाउँठाउँको विकासमा सरकारको मात्रै मुख ताक्नु भन्दा स्थानीयहरु आफै अघि सरेर सामाजिक काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी युवा संघ सल्यान क्षेत्र नम्बर ख का संयोजक डिल्लीराज खड्काले त्रिवेणी गाउँपालिकामा सम्भावना बोकेका धेरै ठाउँहरु रहेको बताए । तथापी स्थानीय, प्रदेश र केन्द्र सरकारले सम्भावना बोकोको ठाउँको विकासका लागि केही नगरेर व्यक्तिगत स्वार्थ जोडिएका कामहरु मात्रै गरेकाले त्यस्ता ठाउँहरु सधै पछाडी परिरहेको बताए ।


एयरपोर्टको समेत सम्भावना रहेको करेलेचौरमा गाउँपालिकाले केही गर्न नसक्नु त्रिवेणी गाउँपालिकावासीको लागि दुर्भाग्य रहेको खड्काले बताए । कार्यक्रममा गोगने युवा समूहका सचिव झक्कु प्रसाद पुनले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नबराज पुनले गरेका थिए ।

प्रकाशित मिति: २२ कार्तिक २०७८, सोमबार २०:१६