कपुरकोटकाे पहिचानः एकै सिजनमा तरकारी फल्छ तिन हजार मेट्रिकटन

शंकर के.सी.
सल्यान आफ्नो छुट्टै पहिचान बनाउन सफल जिल्ला हो । कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यानमा उत्पादन हुने तरकारी फलफूल, जडिबुटी तथा यहाँको वनजंगल धार्मिक एवम् पर्यटकीय क्षेत्रले गर्दा यो जिल्ला पनि अन्य जिल्लाको तुलनामा अग्र स्थानमा पर्दछ ।
यस जिल्लामा विभिन्न किसिमका कृषिजन्य उपजहरु उत्पादन हुने गर्दछन् । नेपालको वेमौसमी तरकारी बजारमा झण्डै ४०% भाग कपुरकोटको तरकारीले ओगटेको छ । एक सिजनमा झण्डै ३ हजार मेट्रिकटन ताजा वेमौषमी तरकारि यहाँबाट विभिन्न शहर, बजारमा पुग्ने गर्दछ । यसले गर्दा पनि कपुरकोटको स्थान उचो भएको छ ।
यस क्षेत्रका किसानहरुले विशेष गरि गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानि, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौषमी ताजा तरकारि उत्पादन गर्ने गर्दछन् । फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानि, टिमुर आदि उत्पादन गर्ने गरेका छन् । यस बजार केन्द्र अन्र्तगत दर्जन बढी सव संकलन सेन्टर रहेका छन् ।

समुन्द्री सतहबाट १२ सय मिटर देखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारिमा किसानहरुले वेमौषमी ताजा तरकारि तथा फलफुल उत्पादन गर्दै आइरहेका छन् । सल्यानको पूर्वि भागमा रहेका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छायाँक्षेत्र लगाएतका क्षेत्र तथा रोल्पा जिल्लाका बुढागाउँ, नुवागाउँ, झेनाम, जुगार, जिनावाङ, ओत आदि स्थान .र दाङ जिल्लाको तुलसिपुर उपमहानगरपालिकाका विभिन्न ठाउँहरु राम्री, कल्ले, बल्ले, टुनापनी, खमारी आदि क्षेत्रबाट समेत कपुरकोट बजार केन्द्रमा करिव १५ हजार देखि १८ हजार किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्रि गर्ने गर्दछन् ।

विशेष गरि फागुन देखि यहाँका किसानहरु तरकारि खेतीमा सक्रियताका साथ खेतबारिमा परिश्रम पोखिरहेका हुन्छन् । र त्यस क्रममा गाउँघरमा बाहुरे लगाउने चलन पनि छ । यसले गाउँघरमा आपसि सम्बन्धलाइ बलियो बनाउनका साथै सामाजिक एकता र सद्भाव कायम राख्न पनि ठूलै भुमिका खेलिरहेको छ ।

कपुरकोटको तरकारि जती खानलाइ स्वादिष्ट र स्वास्थ्यका लागी हितकर छ, त्यत्ति नै तरकारि उत्पादन हुने क्षेत्रको भ्रमण गर्नुको मजा पनि छ । उत्तरतिर हिमश्रृंखला र तलतिर एशियाकै ठूलो उपत्यका हेर्न सकिने समेत भुमि रहेको कपुरकोट क्षेत्रमा जो कोहिको पनि मन रुमलिन सक्छ । यहाँको हावापानी देखि प्राकृतिक सौन्दर्यता र स्थानीयहरुको पाहुना वा अतीथीहरुलाइ स्वागत गर्ने चलनले जसको पनि मन दंग पर्न सक्छ ।

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारि फल्छ । विषादीको प्रयोग विना पनि यहाँ तरकारि फस्टाउँछ । जव चैत्र वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारिको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभ लाग्दो तरिकाले मंशिर, पुस सम्म नै लटरम्म तरकारि र फलफुल उत्पादन हुने गर्छ । यसैले तान्छ सबैकोे मन । चाहे ज्युलाको खेत चाहे पाखा बारि, जताततै लटरम्म तरकारि र फलफुल फस्टाएको हुन्छ । पहिले कालापहाड जानेहरु खेतबारिमै रमाएको देख्न सकिन्छ, विदेशिनेहरुको यात्रा स्थगीत भएर आफ्नै खेतबारिमा परिश्रम पोखिन्छ र त्यहि परिश्रमबाट आर्जन भएको रकमले छोराछोरिले सहज तरिकाले पढ्न लेख्न पाइरहेका छन् ।

यस अलावा तरकारि खेतीका लागी खेतबारिमा प्रांगारिक मल चाहिने भएकाले यहाँका किसानले पशु पालन पनि गरेका छन् । जसले मल मात्रै होइन मासु, दुध, दहि पनि प्राप्त भइरहेको छ । तरकारि वालिका लागी आवश्यक पर्ने थ्यांक्राका लागी वन जंगलको संरक्षण तर्फ पनि स्थानीयको ध्यान गइरहेको छ । साथै ताजा तरकारि पनि दिनहु खान पाइरहेका छन् यहाँका वासिन्दाले । जसले गर्दा यहाँका मानिसको स्वास्थ्य पनि सबल मानिन्छ ।

तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्वपुर्ण योगदान पुगेको छ । यहांको तरकारी खेतीले राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा यस कपुरकोट क्षेत्रलाई चिनाएको छ । पर्यटकीय हिसावले महत्वपूर्ण र सम्भावना बोकेको यस कपुरकोट क्षेत्रमा वाह्य तथा आन्तरिक पर्यटकहरु आउन सक्ने थुप्रै आधारहरु छन् । उत्तरतीर हिमाल र तराइको समथर फाँटहरु पनि एकै स्थानबाट देख्न सकिने यस क्षेत्र प्राकृतिक सौन्दर्यताले पनि महत्वपूर्ण छ ।

यस क्षेत्रमा रहेको तरकारी पकेट क्षेत्रमा महिलाहरुको सहभागिता र सुख्खा समयमा पानीको अभाव भए पनि थोरै पानीबाट गरिएको तरकारी खेतीको बारेमा अध्ययन गर्न मानिसहरु आउन सक्दछन । तरकारी विक्रि वितरण गरिएको कपुरकोट कृषी उपज संकलन केन्द्र (हाट बजार) र यस मातहतका संकलन केन्द्रमा किसान र संकलन कर्ताको विचमा सिधा मोलमोलाई भई विक्रि वितरण हुने गरेको छ ।
अर्गानिक तरकारी खेती गरि उत्पादनलाई बजारीकरण गर्न सकिन्छ । उक्त तरकारी खरिद गर्नलाई मानिसहरु आउन सक्दछन । साथै यस क्षेत्रमा उत्पादित तरकारी तराई तथा भारतमा उत्पादित भन्दा स्वादिष्ट हुने हुदा मानिसहरु तरकारीको स्वाद लिन आउने धेरै सम्भावना रहेको छ ।

लटरम्म तरकारि फलेका खेतबारि, हरेक मानिस कृषि कर्ममा सक्रिय भएको दृश्य सांच्चीकै हेर्न लायक देखिन्छ । अझ यहाँ होमस्टे संचालन गरेर पाहुनाहरुलाइ यहिंकै अर्गानीक तरकारि र फलफुलहरुको स्वाद दिलाउन सक्ने हो भने विभिन्न ठाउँबाट पर्यटकहरु भित्रन सक्ने सम्भावना रहेको छ ।

बि.स. २०४२÷०४३ सालमा स्थापना भएको राप्ति एकिकृत ग्रामिन विकास परियोजनाले राप्तिका पाँचै जिल्लामा गरेको अनुसन्धाबाट सल्यान जिल्लाको यस क्षेत्रमा वेमैसमी तरकारी खेति गर्न सकिने उपर्यूतm स्थान भएको ठानेर त्यस परियोजनाले यस क्षेत्रमा भीएफसी कार्यक्रम लागु गरि सुरु ग¥यो ।

उक्त कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर वेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धि आधुनिक खेति प्रणालिको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांड्ने, रोगनासक किटनासक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।

यसरि बढदै गएको कृषि उपज बजारलाई अझ व्यबस्थित बनाउने उदेश्यका साथ २०४७ सालमा हिमाली वेमौसमि ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरि एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रशाद शर्मा लाई चयन गरियो । तत्पश्चात उक्त समिति, भीएफसी, जिल्ल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानिय निकाय एवंम् आम जनसमुदायहरुबाट यस कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यबस्थापन गरिएको थियो । र यस क्षेत्रका किसानहरुले वेमौषमी तरकारि एवम् फलफुल खेती शुरु गरेको पाइन्छ । शुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो ।

कपुरकोटमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार गरि २ पटक बजार लाग्ने गर्दछ । सुरुसुरुमा भने प्रत्येक शनिबार लाग्ने गरेता पनि वि.स. २०४८ साल देखि जिल्ल्ला विकास समितिले आफ्नो मातहतको जग्गा यस समितिलाई चलन गर्न हस्तान्तरण गरे पछि व्यबस्थित बनेको यस बजारमा संकलित तरकारी को झण्डै ६० देखि ६५% बुटल बजारमा बिक्रि हुने गरेको र त्यहाँको बजार बुधबार र शनिबार लाग्ने गरेकोले उक्त बजारमा बिक्रिको लागि यहाँ मंगलबार र शुक्रबार तरकारी बजार लगाउने गरिएको हो ।

न्युन आर्थीक अवस्थाका कपुरकोट क्षेत्रका मानिसहरु पैसा कमाउन भन्दै ठूलो संख्यामा भारतको कालापहाड जाने गर्दथे । यहाँ तरकारि वालि हुनेरहेछ भन्ने थाहा पाएका कतिपयले कालापहाडमा तरकारि खेतीमा सिकेको सिपलाइ यहाँ प्रयोग गरेको पनि पाइन्छ ।
शुरुमा तरकारि खेती गर्नुपर्छ भन्दा कतिपयले अन्न फल्ने खेतबारिमा तरकारि खेती गरेर किन बौलाउन लागेको भन्ने प्रश्न गरेको कतिपय अगुवा किसानले जनाउँछन् । तर एक दुइ जना हुँदै धेरैै किसानहरुले तरकारि खेती गरेर कपुरकोट स्थीत कृषि उपज बजार केन्द्रमा वेचेर आम्दानी गर्न थालेपछि अरु किसानहरु पनि यसतर्फ अग्रसर भएको देखिन्छ । मकै, गहुँ, कोदो जस्ता अन्नवालि छाडेर विस्तार यहाँका किसानहरु वेमौषमी तरकारि खेतीतर्फ आकर्षित भएका हुन् । त्यस पश्चात कमाइका लागी भारत या विदेश जाने युवाहरुको संख्यामा विस्तारै कमि हुँदै आएको पाइन्छ । साथै विदेश गएकाहरु पनि गाउँ फर्किएर व्यवशायीक रुपमा तरकारि खेतीमा लागे । तरकारि वेचेरै छोराछोरीलाइ स्कुल पढाउन सक्ने हैसियतका किसान भए ।

कपुरकोट क्षेत्रमा तरकारि खेती हुने गरे पनि यसमा कतीपय चुनौतीहरु देखा पर्ने गरेका छन् । अझै पनि यहाँका किसानले उन्नत जातको विउ, मल वा प्राविधिक ज्ञान पर्याप्त रुपमा पाउन सकेका छैनन् । सिधै व्यापारिहरु संग मोलमोलाइ गरेर तरकारि वेच्ने गरिए पनि पटक पटक किसानहरुले व्यापारिले जुन मुल्यमा भन्छन् त्यहि मुल्यमा तरकारि वेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन् । बेलावेलामा हुने नेपाल बन्द, चक्काजाम जस्ता आन्दोलनले पनि किसानले तरकारि वेच्न नपाउँदा लाखौँको घाटा व्यहोर्नु परेको हुन्छ ।

कतीपय किसानले तरकारि वालिमा बढि विषादी प्रयोग गरेको पनि पाइएको छ, जसले मावन स्वास्थ्यमा र वातावरणमा प्रत्यक्ष असर गर्छ । साथै किसानलाइ कसरि तरकारिको ग्रेडिङ गर्ने, कसरि गुणस्तरिय तरकारि उत्पादन गर्ने भन्ने बारेमा उचीत ज्ञान प्रदान गर्न आवश्यक छ । कम गुणस्तर र गुणस्तरिय तरकारिले पनि एउटै मुल्य पाउने भन्दै कतिपय किसानले मर्का परेको जनाउँछन् । यी यस्ता समस्याहरुको समाधान गर्नुपर्ने देखिन्छ ।।

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार १८:५७