कपुरकोटमा जेठ ३१ देखि तरकारी हाट बजार लाग्ने, ७ महिनामा साढे १९ करोड बढीको तरकारी विक्रि

शंकर केसी,

सल्यान, २२ जेठ ।

बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा आगामी जेठ ३१ गतेदेखी तरकारी बजार लाग्ने भएको छ । विक्रिका लागि तरकारी तयार भएपछि सल्यानमै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार हप्ताको दुई दिन लगाउने तयारी भएको तरकारी बजार केन्द्रले जनाएको छ । आइतबार बसेको कृषि उपज बजार सञ्चालन समिति कपुरकोटको बैठकले जेठ ३१ गते मंगलबार देखी तरकारी बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार र शुक्रबार गरी हप्तामा दुई दिन तरकारी हाट बजार सञ्चालन गर्ने निर्णय भएको सञ्चालन समितिका कोषाध्यक्ष शन्तसिंह घर्तीले जानकारी दिए । विशेष गरेर वषौयाममा तरकारी खेती हुने कपुरकोटमा यो वर्षको सिजन शुरु भएको उनले जनाए ।

कपुरकोट स्थित तरकारी बजार केन्द्रको रेकर्ड अनुसार गएको सिजनमा १९ करोड ५० लाख भन्दा बढीको तरकारी किसानहरुले विक्रि गरेका छन् । २०७८ जेठ देखि मंशिर २१ गते सम्म १९ करोड ५० लाख भन्दा बढीको ताजा तरकारी तथा फलफुल विक्रि भएको बजार सञ्चालन समितीका सचिव तिलक शर्माले जानकारी दिए । उनका अनुसार ४० लाख ५० हजार ७९ किलो तरकारी कपुरकोटबाट निकासी भएको छ । कपुरकोटबाट देशका भिभिन्न शहर बजारका व्यापारीहरुले ३९ लाख ४५ हजार ६५५ किलो ताजा तरकारी, ८५ हजार ३५२ किलो अदुवा र १९ हजार ७२ किलो फलफुल खरिद गरेर लगेको सचिव शर्माले जानकारी दिए ।

तरकारी खरिदका लागि नारायगढ, बुटवल, नेपालगञ्ज, धनगडी, दाङ लगायतका ब्यापारी कपुरकोटमा आउने गर्दछन् । किसानले बिशेष गरेर टमाटर, काउली ,बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौषमी तरकार उत्पादन गर्ने गर्दछन् । कपुरकोट गाउँपालिकाको विभिन्न वडामा ३० भन्दा बढी सहायक तरकारी बजार लाग्ने गर्दछ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार ०९:४३