कभर खबर

  • १० श्रावण २०७९, मंगलवार १०:४८

सल्यान बागचौरमा जुवातास खेल्ने ६ जना नगद सहित पक्राउ

सल्यान, १० साउन ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सल्यानबाट ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका स्थित थारमारे बजारको ईन्द्रेणी होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेमा होटलका संचालक बागचौर नगरपालिका–३ बस्ने ४१ वर्षीय खुम बहादुर ओली, बागचौर नगरपालिका –१ बस्ने ३४ वर्षिय शालिकराम बस्नेत, बागचौर नगरपालिका – ८ बस्ने ४५ वर्षिय विवेक चन्द, बागचौर नगरपालिका –३ बस्ने ४१ वर्षिय खुम बहादुर वली, बागचौर नगरपालिका –२ बस्ने ३० वर्षिय राहुल केसी, बागचौर नगरपालिका –२ बस्ने ३४ वर्षिय विवेक डिसी र बागचौर नगरपालिका –२ बस्ने २५ वर्षिय लालमणी केसी रहेको प्रहरीले जनाएको छ । उनीहरु गत आइतबार पक्राउ परेका थिए ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय थारमारेबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीको कमान्डमा खटिएको ८ जनाको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार २ सय रूपैयाँ, मोबाइल ८ थान र ५ गड्डी तास सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । प्रहरीले उनीहरुमाथी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलवार १०:४८