गरिवी हटाउने गरी कृषि क्षेत्र विकासमा सहकार्य


सल्यान, २० भदौ ।

कृषि र पशुपालनको क्षेत्रलाइ व्यवस्थित तरिकाले अगाडी बढाएर आर्थिक रूपमा बलियो बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सल्यानको त्रिवेणी गाउँपालिकामा सोमबार भएको कृषि क्षेत्र विकास कार्यक्रम बारे अभिमुखिकरण कार्यक्रमका वक्ताहरूले आर्थिक विकासमा कृषि र पशुको महत्वबारे चर्चा गरेका हुन् । कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले पालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई बिशेष प्राथमिकताको साथमा अगाडि बढाईरहेको भन्दै कृषि क्षेत्र विकास कार्यक्रमसंगको सहकार्यले थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले गाउँपालिकामा सञ्चालन हुने कृषि र पशु क्षेत्र संग सम्बन्धीत विभिन्न कार्यक्रम र योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि कृषि क्षेत्र विकास कार्यक्रमसंग सहकार्य हुने भएकोमा खुसि व्यक्त गरे ।

कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई बागचौर सल्यानको आयोजनामा पालिका स्तरिय अभिमुखिकरण तथा कृषि विकास समिति गठन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई बागचौर सल्यानका कृषि अधिकृत प्रकाश पौडेलले कार्यक्रमको संचालन मोडालिटि, कार्यक्रमको सहलगानि सिमा, क्षेत्र लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।

संघीय सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको संयुक्त लगानीमा कर्णालीका ६ जिल्लामा कृषि क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा छ । आ.व. २०७५।०७६ देखि ६ वर्ष सम्मको लागि सञ्चालनमा रहेको यो कार्यक्रमले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी जिल्लामा बसोबास गर्ने विपन्न र सिमान्तकृत समूदायको गरिवी हटाउन र पोषण स्थितीमा सुधारमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

त्रिवेणी गाउँपालिकामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता खडका पुन, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन तथा ६ वटै वडाका वडाअध्यक्षहरुले कृषि वस्तुको उत्पादनमा बृद्धि गरी उचीत बजारीकरण मार्फत साना तथा विपन्न कृषकहरुको आयस्तरमा बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरु, बिभिन्न समुह, सहकारीका प्रतिनिधि, एग्रोभेट संचालक, व्यापारि उद्यमि, बैक बित्तिय संस्थाका पदाधिकारीहरु लगायतकोसहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण मुल्य श्रृंखला तथा व्यवसाय बिकास अधिकृत चन्द्र बहादुर कार्कीले गरेका थिए ।

यस कार्यक्रमले स्थानीय तहहरुको समन्वयमा मुल्य श्रृंखला बिकास, सामुदायिक र सार्वजनिक पुर्वाधारमा सह–लगानि, ग्रामिण बित्तिय पहुचँ र दिगो कृषि प्रसारको लागि संस्थागत बिकासको माध्यमबाट बहुपक्षिय कृषि प्रसार लगायतका कृयाकलापहरु संचालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार १७:२५