कृषि क्षेत्र विकास कार्यक्रमको कार्यक्षेत्र विस्तार, कपुरकोटमा सम्झौता संगै कृषि बिकास समिति गठन


सल्यान, २१ भदौ ।

सल्यानको कपुरकोट गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम विच गरिवी र पोषण असुरक्षा न्युनिकरणको लागि सम्झौता भएको छ । मंगलबार गाउँपालिकामा कृषि क्षेत्र विकास कार्यक्रमको अभिमुखिकरण पश्चात मुल्य श्रृंखला विकास लगाएतका विभिन्न क्रियाकलाप सञ्चालनका लागि द्विपक्षिय सम्झौता भएको हो । बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी व्यावसायिक कृषि मार्फत कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने गरी कार्यक्रम सञ्चालनका लागि कृषि क्षेत्र विकास कार्यक्रमसंग सम्झौता भएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।

कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, बागचौर सल्यानको आयोजनामा पालिका स्तरीय अभिमुखिकरण तथा कृषि बिकास समिति गठन र द्विपक्षिय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत कपुरकोटको समग्र कृषि तथा पशु क्षेत्रको विकासका लागि कृषि विकास समिती समेत गठन भएको छ । जसको संयोजकमा वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, सदस्यहरुमा तिला रोका, तिला विक, घनश्याम शर्मा, गिरीराज वली, तेज बहादुर केसी, सुरेन्द्र वली, भिमा बुढा, हिमा गिरी, पशुपन्छी विकास शाखा प्रमुख र सदस्य सचिवमा कृषि विकास शाखा प्रमुख रहेका छन् ।

कार्यक्रमबारे अभिमुखिकरण गर्दै कार्यक्रम समन्वय इकाईका कृषि अधिकृत प्रकाश पौडेलले गाउँपालिकासंगको सहकार्यमा कृषक समुह तथा सहकारी मार्फत व्यावसायी साक्षरता कक्षा सञ्चालन गरी कृषकलाई गरिरहेको कृषिलाई आधुनिक र व्यावसायिक तरिकाले गर्न सिकाउने उद्देश्य रहेको बताए । उनले कार्यक्रमको संचालन मोडालिटि, कार्यक्रमको सहलगानि सिमा, कार्यक्रमले प्रवर्दन गर्ने क्षेत्र, पालिकाको समन्वय लगायतका विषयमा आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले कृषि तथा पशु उत्पादन, बजारिकरण र पूर्वाधार निर्माणका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । स्थानीय तहसंगको समन्वयमा हुने संघिय सरकारको यस प्रकारको कार्यक्रमले पालिका भित्रका किसानहरुलाई थप व्यवसायिक बनाउने बताए । यस्तै विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कृषि क्षेत्र विकास कार्यक्रम लक्षित समूदायको हितमा केन्द्रीत हुनुपर्ने बताए । कपुरकोटको समृद्धिका लागि प्रमुख आधारमा रहेको कृषि तथा पशु क्षेत्रको विकासका लागि आफुहरुले एकिकृत कृषि विकास कार्यक्रम समेत सुरु गरेको जनाउदै उनले यस कार्यक्रमले थप महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखे ।

निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत कृषि क्षेत्र सुधार कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको बताइएको छ । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गर्ने लक्ष्य सहित यो कार्यक्रम लागु भएको हो । मूल्य श्रृंखलामा आधारित उच्च मूल्य जाने वाली र वस्तुहरुको व्यवसायउन्मुख उत्पादन र बजारीकरण प्रणाली मार्फत साना कृषक तथा पिछडिएका ग्रामीण समुदायहरुको आयस्तर सुधार गरी खाद्य सुरक्षामा सुधार गर्ने गरी कार्यक्रम लागू गरिएको छ ।

कार्यक्रमको अभिमुखिकरणमा सल्यान जिल्ला भित्र संभाव्यता भएका नौ वटा बालि बस्तुहरुको मध्ये कपुरकोट गाउँपालिकाभित्र सम्भावित वाली बस्तुहरुको लागि समुह कार्यको माध्यमबाट कार्यक्रमले सहलगानी गर्ने गरि बेमौसमी तरकारी खेती र खसिबोका पालनलाई छनौट गरिएको छ । यस कार्यक्रमले मुल्य श्रृंखला बिकास, सामुदायिक र सार्वजनिक पुर्वाधारमा सह–लगानि, ग्रामिण बित्तिय पहुचँ र दिगो कृषि प्रसारको लागि संस्थागत बिकासको माध्यमबाट बहुपक्षिय कृषि प्रसार लगायतका कृयाकलापहरु संचालन गरिरहेको छ । चालु आर्थिक वर्षमा कार्यक्रमले सल्यान जिल्लाका त्रिवेणी, कपुरकोट, छत्रेश्वरी र कालिमाटिमा कार्यक्षेत्र विस्तार गर्दैछ ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न समुह÷सहकारीका प्रतिनिधि, एग्रोभेट संचालक, व्यापारि, बिषयगत शाखा प्रमुखहरु, कृषि उद्यमि, पत्रकार, बैक÷बित्तिय संस्थाका पदाधिकारीहरु लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण मुल्य श्रृंखला तथा व्यवसाय बिकास अधिकृत चन्द्र बहादुर कार्की र फिल्ड कृषि अधिकृत दिक्षा शर्माले गरेका थिए ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलवार १७:४५