कभर खबर

  • २७ आश्विन २०७९, बिहीबार १६:३६

कपुरकोट ५ सल्लामका पहिरो पिडित १४ घरलाई एमालेले उपलब्ध गरायो एक लाख १४ हजार ५ सय रुपैेयाँ राहत

२७ असोज, सल्यान ।

सल्यान कपुरकोट गाउँपालिकाका पहिरो पिडित १४ घरपरिवारलाई नेकपा एमालेले एक लाख १४ हजार ५ सय रुपैेयाँ राहत रकम उपलब्ध गराएको छ । कपुरकोट, ५ सल्लाम पात्ला गाउँमा पहिरोका कारण घरवास गुमाएका र पहिरोको उच्च जोखिममा परेका घरपरिवारलाई राहत रकम उपलब्ध गराइएको एमाले कपुरकोट गाउँपालिकाका अध्यक्ष द्रोण केसीले जानकारी दिए । विहिबार पिडितहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा निर्वाचनका लागि सल्यान (ख) बाट एमालेका उम्मेदवार गुलावजंग शाहले राहत रकम हस्तान्तरण गरेका थिए ।

घरबास र जमिन पूर्ण रुपमा नष्ट भएका केशर राना र विर बहादुर रानाको परिवारलाई नगद २३ हजार २५० रुपैयाँका दरले ४६ हजार ५०० उपलब्ध गराइएको एमाले कपुरकोटका अध्यक्ष केसीले जनाए । यस्तै अन्य ४ घर पहिरो पिडितलाई प्रतिपरिवार ९ हजारका दरले ३६ हजार र पहिरोका कारण उच्च जोखिममा परेका ८ परिवारलाई प्रतिपरिवार ४ हजारका दरले ३२ हजार रुपैयाँ उपलब्ध गराइएको उनले जनाए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा सल्यानबाट प्रतिनिधीसभा निर्वाचनका लागि एमालेका उम्मेदवार राजेन्द्रवीरि राय, एमाले सल्यानका अध्यक्ष गोविन्द पुन, उपाध्यक्ष भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय संगठनका प्रमुखहरु, पालिका स्तरिय एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती थियो । सो अवसरमा एमालेका उम्मेदवारहरुले पहिरो पिडितहरुको स्थायी रुपमा पुनःर्वासका लागि आवश्यक काम गर्ने प्रतिवद्धता जनाएका थिए । गत असोज २१ गते अविरल वर्षापछि आएको पहिरोले सल्लाम पात्ला गाउँमा ३ घर र ३ गोठ बगाएको थियो भने अन्य १० घर पहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहीबार १६:३६