सल्यानमा दशैंमा परेको वर्षाको क्षति:एक हप्ताको अवधिमा तीनजनाको मृत्यु, ९८ घर भत्कीए

सबै स्थानिय तहमा क्षति

शंकर केसी,

सल्ययान २८ असोज ।

अविरल वर्षाका कारण भएका प्राकृतिक विपद्का घटनाबाट सल्यानमा एक हप्ताको अवधिमा तीन जनाको मृत्यु भएको छ भने ९८ वटा घर भत्कीएका छन् । जस मध्ये ६२ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ३६ वटा घर, विद्यालय भवन, पशु फार्म तथा प्रहहरी पोष्ट बसेको घर समेत भत्कीएर उच्च जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाभर अन्य ५५ वटा घर जोखिममा रहेको पनि कार्यालयमा सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । गत असोज १८ गतेदेखि अविरल वर्षा भएको थियो । १९, असोज देखि २४, असोज सम्म जिल्लाभर बाढी, पहिरो लगाएतका विपद्बाट क्षति पुगेको हो ।

वर्षाका कारण १६ वटा गोठमा क्षति पुगेको छ भने ९ जना किसानको वालीनालीमा क्षति पुगेको विवरण प्राप्त भएको खनालले जानकारि दिए । अन्य १६ वटा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । वर्षाका कारण गोठ भत्कीदा र पहिरोमा पुरिएर पशुचौपायमा पनि क्षति पुगेको कार्यालयले जनाएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा वर्षाका कारण क्षति पुगेको छ । असोज २१ गते शारदा नगरपालिका ८ मा पहिरोले पुरिएर १३ वर्षिय बालक अजय विकको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । यस्तै प्रहरीका अनुसार २४ गते कालिमाटी ६ का ६१ वर्षिय बृद्धको बबई नदि किनारमा शव फेला परेको थियो भने त्रिवेणी २ का ४४ वर्षिय चन्द्र बहादुर पुनको २२ गते माथीबाट झरेको ढुंगाले लागेर मृत्यु भएको थियो ।

जिल्लाभर हाल सम्म भैसी, गोरु, खसीबाख्रा गरेर १८ वटा पशुचौपाया मरेको सूचना अधिकारी खनालले जानकारि दिए । मकै, धान, सुन्तला, अदुवा लगाएतका वालीनालीमा पनि वर्षाको कारण क्षति पुगेको छ । वर्षा तथा पहिरोले पूर्ण रुपमा घरमा क्षति व्यहोरेका पिडित परिवारहरु कोही आफन्तीको घरमा, कोही आफ्नै पुरानो घर तथा गोठमा र कोही सामुदायीक विद्यालयमा बसिरहेका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार १३:५५