तामा निकाल्ने मानिसहरू विस्थापित भएसँगै खानी प्रयाेगविहिन

रुकुमपूर्व, १२ माघ

रुकुमपूर्वको भूमे गाउँपालिका वडा न‌ ३ को झुम्लाबाङ र वडा नम्बर ५ को सेराबाङमा कैयौ तामाखानी प्रयोगविहीन भएका छन्। झुम्लाबाङमा मात्रै एक सयभन्दा बढी तामाखानी भएको स्थानीय बताउँछन्।

७४ वर्षीय स्थानीय ज्येष्ठ नागरिक तिलु सुकनारका अनुसार झुम्लाबाङमा १९७५ सालभन्दा अघिदेखि खानी उत्खनन गर्न सुरु गरिएको थियो। सदरमुकाम रुकुमकोटदेखि निकै टाढाको दूरीमा झुम्लाबाङ गाउँ छ। यस गाउँको चारैतिर तामाका खानी छन्। गाउँका अनगिन्ती कुनाकाप्चामा तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन्। 

यहाँको तामाखानीलाई त्यतिबेला मुख्य रोजगार र पुँजीको स्रोत मानिन्थो। पछि तामा निकाल्ने मानिसहरू विस्थापित भएसँगै तामाखानीको प्रयोग गर्न छोडिएको स्थानीय ज्येष्ठ नागरिक ६९ वर्षीय ओमबहादुर श्रेष्ठ बताउँछन्।

झुम्लाबाङ गाउँको सिरान चाल्नेता भन्ने ठाउँमा तत्कालीन बाइसेचौबिसे राजाको दरबारको अवशेष छ। राजाले तामाबाटै टक्सार (सिक्का पैसा) काटेको इतिहास छ। यस्ता खानीबाट तामाको धातु निकाल्न सुुुरुमा ढुंगा निकालिन्छ त्यसमा सेतो, रातो र कालो ढुंगा निकालेर अनुसन्धान गरी जो ढुंगामा तामा छ त्यसैतिर खन्दै जाने गरिन्छ। धाउ भएको ढुंगा निकालेर आरनमा पगाल्ने गरिन्छ। माटोको आफरबाट मात्रै धेरै परिश्रमपछि तामाको धातु बन्ने गर्छ। यस ठाउँमा २०१५ देखि खानी खन्न बन्द भएको हो। 

तर खानीभित्र अझै पनि तामाको धाउ रहेको दाबी गरिएको छ। पहिलेजस्तो प्रशस्त तामा नपाएपछि अन्य पेसामा लाग्दा खन्ने कार्य बन्द हुँदै गएको हो। तामा उत्खननबाट गाउँघरमै धेरैका लागि आयस्रोतको सम्भावना हुँदा पनि सरकारले थप उत्खननमा चासो नदेखाएको स्थानीय कल्पना पुन (रोका मगर) ले बताइन्। 

जिल्लाको भूमे गाउँपालिका—५ को सेराबाङमा पनि २०५१ सालसम्म खानीको प्रयोग भएको पाइन्छ। वडाको खानीबास, हाताबाङ र बिरालनाठेलगायत ५० भन्दा बढी खानीयुक्त प्वाल÷दुला छन्। तामाखानीबाट तामाको धाउ उत्खनन गरी जीवनयापन गर्न गाह्रो हुने भएकाले पछिल्लो पुस्ता विदेश पलायन भइरहेका छन्। जनयुद्धको प्रभावले पनि खानी बन्द हुने अवस्था आएको सोही वडाका अध्यक्ष टेकप्रसाद बुढामगरले जानकारी दिए। 

अघिल्लो पुस्तासम्म यो मुख्य पेसा थियो। करिब दुई सय मिटरभन्दाभित्र दियालोको राको बालेर घन, छिनोलगायतका साधन लगी खानीमा पस्ने र त्यसलाई पगालेर धातु बनाउनका लागि आइडिया दिने पुरानो पुस्ता नभएको बुढाले बताए। उनका अनुसार करिब २०४८, ०४९ सालतिर भारतको टाटा बिराला कम्पनीले उत्खननको सुरुवात गरेको थियो।

त्यहाँका स्थानीय र तत्कालीन सरकारले रोकेको थियो। अहिले उक्त कम्पनीले यहाँको तामाखानी छ भनेर केही डकुमेन्ट्री बनाएको पाइएको छ। तामाखानीलाई स्थानीय सरकारले संरक्षण मात्र गर्ने अधिकार भएकाले खानी उत्खनन र व्यवस्थापनका लागि संघीय सरकार अघि बढ्नुपर्ने स्थानीयवासीको माग छ।

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै तामाखानीलगायतका खानीहरू स्थानीय स्तरको ऐतिहासिक पहिचान गरी पर्यटनको विकास र आयमुखी स्वरोजगारमा समेत यसले सहयोग गर्ने गर्ने बताउँछन्। स्थानीय अर्थतन्त्रको दायरामा पनि यसले फराकिलो पार्ने उनले जानकारी दिए। 

प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार १०:१५