कार्यसम्पादनमा शारदा पहिलो, पाँच स्थानीय तहले ५० अंक पनि पुर्याउन सकेनन्

सल्यान, ८ फागुन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सल्यानका कुनै पनि स्थानीय तहले ७० अंक पाउन सकेनन् । जिल्लाका १० स्थानीय तह मध्ये एक स्थानीय तहले ४० अंक पनि ल्याउन सकेको छैन भने पांच स्थानिय तहले ५० अंक पुर्याउन सकेनन । चार स्थानिय तहले मात्र ५० अंक कटाएका छन् ।

संघीय सञ्चित कोषबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान सिफारिसका लागि एकसय अंकभार दिएर वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दछ । यस अघिको कार्यकालमा कार्यसम्पादनमा राम्रो अंक ल्याउन नसकेको भन्दै चर्को आलोचना गर्ने जनप्रतिनिधिले नेतृत्व गरेको स्थानिय तहमा समेत उत्साहजनक नम्बर आउन सकेन ।

जिल्लाको बागचौर नगरपालिकाले ३९.०९ अंक मात्रै ल्याएको छ । बनगाड कुपिन्डे नगरपालिकाले ४५.१० र कपुरकोट गाउँपालिकाले ४६.२२ मात्रै अंक पाएको छ भने सिद्धकुमाख गाउँपालिकाले ४६.५३, छत्रेश्वरी गाउँपालिकाले ४७.७१ तथा कुमाख गाउँपालिकाले ४९.०३ अंक प्राप्त गरेका छन् ।

जिल्लामा सबैभन्दा बढी अंक शारदा नगरपालिकाले ६२.९२ अंक प्राप्त गरेको छ । यस्तै कालिमाटी गाउँपालिकाले ५१.८६, त्रीवेणी गाउँपालिकाले ५१.०८ र दार्मा गाउँपालिकाले ५०.६७ अंक प्राप्त गरेको छ ।

समयमा बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको, राजस्व बाँडफाँट गरे-नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्या लगायत सूचकलाई आयोगले मूल्यांकनको आधार बनाएको थियो ।

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार १५:४८