
सर्लाही, २६ फागुन ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जयपालसिंह दनुवारकी २१ वर्षीया छोरी लक्ष्मीसिंह दनुवारलाई बिहीबार विवाह मण्डपमै गएर ५० हजार रुपैयाँ नगदले सम्मान गरेको छ ।चन्द्रनगर–४ गढाटोलकी बेहुली लक्ष्मीका महोत्तरीको भंगहा नगरपालिका–७ का अविनाशसिंह दनुवारसँग विवाह भएको हो । गाउँपालिकाको तर्फबाट अध्यक्ष राजकुमार महतोले ५० हजार रुपैयाँको चेक रकम बेहुलीलाई हस्तान्तरण गरेका हुन् ।
उमेरले २१ वर्ष पुगेर विवाह गर्ने लक्ष्मी एक उदाहरणमात्र हुन् । गाउँपालिकाले लक्ष्मीजस्तै १२ जना छोरीलाई नगद सम्मान गरिसकेको छ । गत वैशाखमा स्थानीय तह निर्वाचनपछि गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले आफ्नो सेवा क्षेत्रभित्र कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरे विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ नगद सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले मंसिरयता १३ जना युवतीको विवाह मण्डपमै पुगेर ५० हजार नगद प्रदान गरेको छ । त्यसैअनुसार पालिकाले लक्ष्मीलाई नगद सम्मान प्रदान गरेको हो ।
पालिकाले शैक्षिक गुणस्तर सुधारका निम्ति अभियान थालेको छ । यसले बालविवाह रोक्नुको साथै छोरी शिक्षित हुने विश्वास गाउँपालिकाको छ । लक्ष्मीका पिता जयपालले गाउँपालिकाको यो निर्णयले अभिभावकलाई छोरी पढाउन आँट मिल्ने बताए । उनले उमेर पूरा गरी विवाह भएमा छोरीको पनि स्वास्थ्य अवस्था राम्रो रहने बताए । उनले छोरीको बिहेको पक्कापक्की भए पनि उमेर नपुगेकाले केही महिना कुरेको जानकारी दिए । ‘छोरीको पढाइमा यतातिर ध्यान दिने चलन छैन, त्यसैले बालविवाह हुने गर्छ,’ जयपालले भने, ‘गाउँपालिकाले सहयोग र सम्मान गर्ने भएपछि हरेक अभिभावकले आफ्ना छोरीलाई कम्तीमा कक्षा १२ सम्म पढाइ २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रचलन बढिरहेको छ, त्यसका लागि केही समय कुर्नुपर्यो भने पनि कुरिरहेका छन् ।’
१२ कक्षा पास गरेकी छोरीले स्नातक तह अध्ययनका लागि भर्ना भएर कागजात पेस गरे गाउँपालिकाले थप ११ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । -कान्तिपुर
प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार ०९:२३