
पश्चिम सल्यान– एक युवा क्लवले पश्चिम सल्यानमा आरसीसी पोखरि निर्माण गरेको छ । सामाजिक कार्य गर्ने क्लवको उद्देश्य अनुरुप वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ डोप्केमा रहेको हरियाली जनजागरण युवा क्लबले ५० हजार लागतमा आरसीसी पोखरी निर्माण गरेको हो । यसै वर्षको देउसी भैलोमा संकलन गरिएको रकम बाट पोखरी निर्माण गरिएको क्लवका अध्यक्ष सुशिल वि.क ले जानकारी गराए ।
देउसी भैलोको रकम विभिन्न क्लव तथा समूहले भोजमा फजुल खर्च गर्नेगरेकोमा हरियाली जनजागरण युवा क्लबले पोखरी निर्माण गरेर समाजमा उदाहरण प्रस्तुत गरेको हो । वनडाडको पिपल चौतारा नजिकै निर्माण गरीएको पोखरीले गर्दा अव गाईवस्तुलाई पानी खुवाउन निकै सजिलो हुने स्थानीयले बताएका छन् ।
आफ्नो युुवा क्लबले देउसी भैलो खेलेर उठेको रकम सधै सामाजिक कार्यमा लगाउदै आएको र विगतमा खानेपानी धारा, पाइप खरिद, निर्माण देखि १ किलोमीटर सडक समेत बनाई सकेको अध्यक्ष विकले बताए । सडक निर्माणका क्रममा यस अघि निर्माण गरेको पोखरी मासिएपछि क्लवले नयाँ पोखरी निर्माण गरेको हो । विकासका लागी वडा, नगर तथा अन्य सरकारी निकाय तथा संघसंस्थाको मुख ताक्दा पछाडी परिने र आफैले पनि पहल गर्ने हो भने केही गर्न सकिन्छ भनेर पोखरी बनाएको क्लवले जनाएको छ ।
प्रकाशित मिति: २१ पुष २०७६, सोमबार १७:३६