सल्यान उद्योग बाणिज्य संघले अहिलेसम्मकै ठुलो महोत्सव आयोजना गर्दै

रमेश कुमार वली
सल्यान, २५ पुस |सल्यान उद्योग बाणिज्य संघले प्रादेशिक कृषि, पर्यटन, उद्योग तथा सास्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी माघ २९ गते देखि फागुन ११ गते सम्म सल्यानको श्रीनगरमा महोत्सव सञ्चालन हुने सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्वसको आयोजना गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष बिर वहादुर चलाउनले जानकारी दिनुभयो । विहिबार श्रीनगरमा रहेको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै अध्यक्ष चलाउनेले १२ दिन सम्म करिव ५ करोडको व्यापार गर्ने तथा १ लाख भन्दा वढि मेलामा सहभागी गराइने लक्ष रहेको जानकारी दिनुभयो ।

“हरेक बर्ष महोत्सव आयोजना गर्दै आएकोमा आर्थिक आभावमा गत बर्ष सञ्चालन गर्न सकिएन अव यसलाई हामी निरन्तरता दिन्छौं ,” अध्यक्ष चलाउनेले भन्नुभयो । महोत्सवमा जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलहरुको फोटो पर्दशनी, स्थानीय उत्पादनहरुको प्रदशनी तथा जिल्लाका १० वटै तहमा भएका परम्परागत तथा धार्मिक नृत्यहरु मुख्य आकर्षणको रुपमा रहने अध्यक्ष चलाउनेले जानकारी दिनुभयो ।

“जिल्लामा विभिन्न पर्यटकीय स्थलहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् तिनिहरुको वृद्धि विकासका लागि प्रचार प्रसार गर्न फोटो प्रदर्शनी गरिने छ , जिल्लाका उत्पादनहरुलाई समेत स्टलमा राखिने र स्थानीय संस्कृतिलाई पनि प्रस्तुत गरिने र वाल उद्यान मेलाको मुख्य आर्कषण हुने छ । ” अध्यक्ष चलाउनले भन्नुभयो ।
महोत्सवमा कृषि उपजहरुलाई प्रवद्र्धन गर्नका लागि कृषि उपजहरुको प्रदशनी तथा पुरस्कारको समेत व्यवस्था गरिएको छ । यसैगरी महोत्सवमा विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।
विगतका वर्षहरुमा जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गर्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको भएपनि यसपाली भने नहुने भएको छ । “विगतमा जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यवस्था गरेका थियौं आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि हामीले यसपाली सो व्यवस्था गर्न सकेनौ वरु इच्छुकहरुलाई गाडी मार्फत पर्यटकीय स्थलहरुमा अवलोकनको व्यवस्था मिलाएका छौं ।” अध्यक्ष चलाउनेले भन्नुभयो ।

महोत्सवमा राष्ट्रिय तथा जिल्ला भित्रका कलाकारहरुको पनि प्रस्तुति रहने छ । महोत्सव सफल वनाउनका लागि स्थानीय व्यवसायीहरु तथा जिल्लाका सवै स्थानीय तहरुसंग समन्वय गरेर अगाडी वढ्ने सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।
यसैवीच संघको नवौं बार्षिक साधारण सभा आगामी माघ २२ गते हुने भएको छ । आफनो स्थापना कालको २५ वर्ष पुरा भएकोले रजत दिवस मनाउने भएको छ । यसका लागि माघ २० गते जिल्ला अस्पताल सल्यानका विरामीहरुलाई फलफुल वितरण, २१ गते श्रीनगर वजार सरसफाई कार्यक्रम तय गरिएको अध्यक्ष चलाउनेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार १३:१२