नेपालमै भेटियाे ३० वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन हुने खानी,  

नवलपरासी – नवलपरासीको धौंवादीमा अब फलाम उत्खनन्को काम चाँडै अघि बढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले धौंवादी फलाम कम्पनी लिमिटेडको स्थापना भइसकेकोले अब फलाम उत्खनन् चाँडै हुने जानकारी दिएको छ । 

 

मन्त्रालयमा सरकारको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिन अयोजित पत्राकार सम्मेलनमा उद्योग सचिव यमकुमारी खतिवडाले धौंवादी फलाम उत्खनन्को काम चाँडै अघि बढ्ने जानकारी दिनुभयाे ।

फलाम उत्खनन् एवं उत्पादनको लागि फलाम कम्पनी स्थापना भइसकेको र परीक्षण लागि चीन पठाइएको फलामको नमुना परीक्षण सफल भएको सचिव खतिवडाले जानकारी दिनुभयाे । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ’ उहाँले भन्नुभयाे, ‘उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरेर सञ्चालनको मोडालिटी तयार भइसकेको छ ।’

धौंवादी फलाम खानीबाट ३० वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन गर्न सकिने सम्भावना परीक्षणका क्रममा देखिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले गत भदौमा नवलपरासीको धौंवादीमा ‘धौंवादी फलाम कम्पनी’ खोल्ने निर्णय गरेको थियो । त्यसअघि फलामको नमुना परीक्षणका लागि नेपाल सरकारले ५ टन फलाम चीन पठाएको थियो ।

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार १३:४४