ज्यालामा विभेद भएको महिला श्रमिकको गुनासो

सल्यान,सल्यानमा समान कामको असमान ज्याला भएको भन्दै महिलाहरुले गुनासो गरेका छन् । समान काम गरेपनि ज्यालामा भने विभेद हुने गरेको भन्दै शारदा नगरपालिका–३ निवासी ३० वर्षीया दिलमाया कुवरले गुनासो गर्नुभयो। स्थानीय सडकमा निर्माण काम गरि रहेकी उनी बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काममा खटिएर पनि दैनिक ५ सय रुपैयाँ मात्र ज्याला पाउने गरेको बताउनुभयो ।
आफुसंगै गिट्टीबालुवा, सिमेन्ट ओसार्ने देखि ढलानमा संलग्न पुरुषहरुले भने दैनिक ६ सय ज्याला पाउने गरेको उहाँले बताउनुभयो। उहाँले महिला पुरुषले समान काम गरेपनि ठेकेदारहरुले ज्यालामा विभेद गर्ने गरेको जानकारी दिनुभयो।
यस्तै सदरमुकाम आसपासका क्षेत्रमा ढलानको काममा दैनिक मजदुरी गर्दै आउनु भएको स्थानीय नमुना नेपालीले पनि ज्यालामा विभेद हुने गरेको बताउनु भयो । आफुसँगै काम गर्ने चित्रबहादुर थापाले भने दैनिक ७ सय रुपैयाँ ज्याला पाउनुहुन्छ । जिल्लाका अधिकांश ठाउँमा हुने विभिन्न विकास–निर्माणका काममा पुरुषसँगै महिला कामदार पनि खटिने गरेका छन । तर, वर्षौंदेखि पुरुषको तुलनामा महिलाले ज्याला कम पाइरहेको गुनासो गरेका छन् ।समान ज्यालाको माग गर्दा कामबाट हटाइदिने डरले पनि आफूहरू बोल्न नसक्ने उनको गुनासो छ ।
अधिकांश विकासमा महिला–पुरुषको कामको प्रकृति समान हुने गरेको छ । गत वर्ष गरिएको आर्थिक गणनाअनुसार जिल्लामा मजदुरी गर्नेको संख्या २ हजारभन्दा बढी छ । त्यसमध्ये महिला करिब ८ सयभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ । पुरुष वैदेशिक रोजगारीमा जाने गरेकाले ग्रामीण क्षेत्रका महिलाले जीविकोपार्जनका लागि मजदुरी गर्दै आएका छन् ।
पुरुषसरह समान ज्यालाको माग राख्दै आए पनि ठेकेदार र उपभोक्ता समितिले बेवास्ता गर्दै आएको स्थानीय मजदुर विमला रोकाले बताइन् । बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीकी निर्मला बुढाले युवा रोजगारीका लागि बाहिर गएकाले ग्रामीण क्षेत्रमा हुने अधिकांश विकास निर्माणका काम महिलाले गर्दै आएको बताउनुभयो ।
दुइ रोपनी पाखो जग्गामा लगाएको अन्नले ३ महिना खान पुग्दैन,’ उहाँले भन्नुभयो, ‘भारत र खाडी मुलुकमा गएका युवाले पठाएको रकम चाडबाड र ठूला खर्च धान्न ठिक्क हुन्छ, महिलाले मजदुरी नगरे अधिकांश घरमा चुलो बल्न मुस्किल हुन्छ ।’
यता शरदा नगरपालिकाका प्रमुख मेयर सुरेश अधिकारीले पालिकाले सञ्चालन गरेका विकास योजनामा लैंगिक विभेद नगरिएको दाबी गर्नुभएको छ ।यदि काँही कतै त्यस्तो भएको भेटिएमा नगरपालिकालाइ जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।अधिकांश स्थानीय तहले श्रमिकसम्बन्धी नयाँ कानुन नबनाएकाले जिल्ला दर अनुसार ज्याला दिइरहेको बन्गाडकुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले कानुनमा दक्ष र अदक्ष कामदारको ज्याला फरक भए पनि महिला–पुरुषको पारिश्रमिक समान रहेको जानकारी दिनुभयो।उहाँले ज्यालामा विभेद गरेको गुनासो आए सम्बन्धित योजनाको ठेकेदार र उपभोक्ता समितिलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभयो। जिल्ला दर अनुसार दक्ष सिमर्की, नकर्मी र डकर्मीको १ दिनको ज्याला ९ सय, अर्धदक्षले ६ सय ७५ र अदक्ष मजदुरले ६ सय रुपैयाँ पाउँछन् । जसमा महिला–पुरुषको ज्याला समान तोकिएको छ ।

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार १०:२६