
सल्यान- वेमौषमी तरकारी खेतीका लागी ख्याती कमाएको सल्यान कपुरकोटमा कृषिजन्य उत्पादनलाई बजार सम्म सहज होओस् भन्दै गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएको छ । यहि क्रममा गाउँपालिकाको बजेटबाट कपुरकोट २ र ४ मा दुई सडक निर्माण भएका छन् । वडा नं २ मा गेरुवाखोला सिमल खोरिया कमिरेपानी कृषि सडक निर्माण गरिएको वडा अध्यक्ष मान बहादुर रानाले जनाए ।
गाउँपालिकाको ५ लाख रुपैयाँ बजेटबाट सडक निर्माण गरिएको उनले जनाए । सडक निर्माण भएपछि स्थानीय कृषकहरुलाई आफुले उत्पादन गरेको कृषिजन्य वस्तु बजार सम्म सहज तरिकाले लैजान सहज हुने सडक निर्माण उपभोक्ता समितका अध्यक्ष झुपलाल घर्तीले बताए । तर नियमित रुपमा सडक सञ्चालन गर्नका लागी सडकको मर्मत सम्भारमा उपभोक्ताहरुले चासो देखाउनुपर्ने गाउँपालिका स्तरिय अनुगमन समितीको जोड छ । अनुगमन समिति संयोजक तिला बुढा मगर सहितको अनुगमन टोलिले कतिपय स्थानमा झरेको पहिरो हटाउन र मोडहरु सुधार गर्न सुझाव दिएको थियो ।
साथै कपुरकोट गाउँपालिकाको वडा नम्बर ४ मा पनि सडक निर्माण भएको छ । निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्णा सार्कीले कपुरकोट गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको बताईन् । उक्त सडकको पनि गाउँपालिका स्तरिय अनुगमन समितीका संयोजक तिला बुढा मगर नेतृत्वको टोलिले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा कतीपय स्थानमा सडक सााघुरो देखीएकाले फराकिलो बनाउन उपभोक्ता समितिलाई निर्देशन दिइएको योजना शाखाका प्रमुख खगेन्द्र शाहीले बताए । सडक माथीबाट झरेको पहिरो हटाउन र मोडहरु सुधार गर्न पनि सुझाव दिइएको उनले जनाए । वडा नं ४ का वडाध्यक्ष हरिलाल पुन, योजना शाखा प्रमुख शाही, ईन्जिनियर भुपेन्द्र एरी, शंकर के सी, प्रविण शाह, सुरेन्द्र पुरी लगाएत अनुगमनमा सहभागी थिए । आयोजनाको सम्पूर्ण विवरण खुल्ने गरि सूचना बोर्ड अनिवार्य राख्न पनि समितिले निर्माण उपभोक्ता समितीहरुलाई सुझाव दिएको छ ।
प्रकाशित मिति: ६ माघ २०७६, सोमबार ०७:५२