
सल्यान। ठुला उद्योग स्थापना गर्न सरकारले लगानीको वातावरण सृजना गर्नु पर्ने नेपाल उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले बताउनु भएको छ । सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा तथा रजत जयन्तीको अवसरमा बोल्दै शाहीले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्नको लागी सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्न नसकेको आरोप लगाउनुभयो ।उहाँले सल्यान लगायत कर्णाली प्रदेशमा उत्पादिते बस्तु राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिस्तार गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनु भएको छ । कृषि तथा जडिबुटिको थुप्रै सम्भावना बोकेको यस प्रदेशमा ठुला उद्योग स्थापना गर्न उद्योगीहरुले पटक पटक अनुरोध गर्दा पनि यो प्रदेशमा लगानी आउन नसकेको उहाँले बताउनु भयो ।
प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले सल्यानमा टिमुर, अदुवा, आलु, सुन्तला, बेमौषमी तरकारी, खानी तथा खनिज र पर्यटनका थुप्रै सम्भावना भएपनि उपयुक्त बजारीकरण नहुदाँ समस्या भएको बताउनुभयो । उहाँले कर्णालीको बिकासका लागी सक्दो लगानी गर्न निजि क्षेत्र तयार भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेले स्थानीय तह र निजि क्षेत्रको समन्वय सहकार्य नहुँदा कृषकहरु व्यवसायी बन्न नसकेको बताउनु भयो । जिल्लामा उत्पादन लाई बढवा दिन स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै उहाँले छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ मा टिमुर र कालीमाटी गाउँपालीकामा अर्गानीक च्युरी बनाउने योजना रहेको बताउनु भयो । सल्यानमा उत्पालदित बेमौसमी बस्तुलाई अर्गानिक प्रमाणीत गराएर मात्र बाहिर निर्यात गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्यव समितीका प्रमुख केश बहादुर बिष्टले नागरीकको लगानी शुनिश्चित हुने गरी बस्तुको उपभोग हुन सके मात्रै कृषकले प्रतिफल लिन सक्ने बताउनु भयो । जिल्लामै उद्योग स्थापना गरेर उत्पादीत बस्तुलाई खपत गर्न सके आम्दानीको स्रोत बन्न सक्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष भरत बस्नेतले संचालन गरेको कार्यक्रममा १४ जना आजिवन सदस्यलाइ सम्मानित गरिएको थियो ।
रजत जयन्तीको अबसरमा उद्योग वाणिज्य संघले सोमबार जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको थियो भने मंगलबार जिल्लाभरीका सबै बजारहरुमा सरसफाई गरिएको थियो । यस्तै माघ २९ गते बाट फागुन ११सम्म महोत्सवको समेत आयाजना गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २२ माघ २०७६, बुधबार २०:११