बाँफीकोटको शेराखेतमा गलैचा उद्योग स्थापना

प्रचण्ड खत्री (रुकुम पश्चिम् )
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ सेराखेतमा कर्णाली अल्लो गलैँचा उद्योग सञ्चालनमा आएको छ । बाफीकोट गाउँपालिका भित्रका समुदायहरुलाई लक्षित गरी गएको कार्तिक महिनादेखि उद्योग सञ्चालनमा ल्याइएको हो ।
कर्णाली प्रदेश सरकार र बाफिकोट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको उद्योगले आवश्यक दक्ष जनशक्ति तयार गरी काम अगाडी वढाईरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष कर्ण वहादुर खत्रीले जानकारी दिनुभयो । “उद्योगका लागि आवश्यक पर्ने १३ जनालाई झापा जिल्लामा गलैचा निर्माण सम्वन्धी तालिम प्राप्त गरिसकेका छन् आवश्यक कच्चा पदार्थ खरिद गरिसकिएकोले उत्पादनको काम पनि आगडी वढिरहेको छ ।” अध्यक्ष खत्रीले भन्नुभयो ।
उद्योगमा खरिद गरेर ल्याइएको कच्चा पदार्थ र स्थानीयस्तरमा पाइने कच्चा पदार्थको संयोजन गरी गलैचा उत्पादन गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । स्थानीय स्तरमा रहेको कच्चा पदार्थको सदुपयोग र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको खत्रीको भनाई छ ।
उद्योग स्थापनाका लागि स्थानीय टीकाराम जैशी र कर्णु जैशीले ५ सय ४० वर्गमिटर जग्गा निशुल्क दान गरेको उद्योग सञ्चालक समितिले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारको १२ लाख रुपैया, घरेलु तथा साना उद्योग विकास समितिबाट ३ लाख ७८ हजार र ३ लाख बराबरको जनश्रमदानबाट उद्योग स्थापना गरिएको छ ।
बाफीकोटको शेराखेतलाई औद्योगिक क्षेत्रको रुपमका विकास गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको बाफीकोट गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले जानकारी दिनुभयो । “हाम्रो पहिलो गाउँसभाले गरेको निर्णय अनुसार हामीले अल्लो गलैचा उद्योग स्थापना गरेका छौ अव अन्य उद्योग स्थापनका लागि पनि हामी पहल गर्दैछौ यसका लागि हामीले सरोकारवालाहरुसंग समन्वय समेत अगाडी वढाएका छौ,” अध्यक्ष केसीले भन्नुभयो ।
कर्णाली अल्लो गलैँचा उद्योग ब्यबस्थापन समितिका अध्यक्ष कर्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला पुन, वडा नंं. ९ का वडाध्यक्ष कबिराम खत्री, वडा नं. ४ का वडाध्यक्ष शेरु विक, वडासदस्यहरु, स्थानीय वुद्धिजिवी लगायतका उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन उद्योग व्यवस्थापन समितिका सचिब हेमन्त दाहालले गर्नुभएको थियो ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार १६:०४