
इन्द्र बुढाथोकी
सल्यान ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय सल्ली बजारको भवन अलपत्र अवस्थामा रहेको छ ।काम छाडेर निर्माण व्यवसायी सम्पर्क बिहिन बनेपछि भवन निर्माणको काम अलपत्र अवस्थामा रहेको हो ।
चार महिना अघि काम गर्ने जिम्मेवारी पाएकोे देव सिं निर्माण सेवा प्राली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर अहिले सम्पर्क बिहिन अवस्था रहेको र उनको मोबाइल समेत अफ गरिएकाले सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
निर्माण व्यवसायी कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरी कार्यालय सल्यान विच ०७६जेठ २४ गते बाट काम शुरु भइ ०७७ जेठ २३ गते सम्म काम सम्पन्न गर्ने भनेर सम्झौता भएको थियो । काम गर्ने सम्झौता भएको ८ महिना विति सक्दा समेत निर्माण कार्य शुन्य भएको स्थानीय बताउँछन् ।
अढाई तलाको १६ कोठे भवनको निर्माणका लागि कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पंैतीस रुपैयाको ठेक्का परेकोमा ४१ लाख ३४ हजार ५ सय ७८ रुपैयाँ पेश्की लगेर काम गरेको र अहिले काम छोडेर फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
अहिले प्रदेशले बाँकी रकम भुक्तानी पनि नदिएको र काम अलपत्र अवस्थामा रहेको उनले बताए । नयाँ बन्ने भबनमा इलाका प्रहरी कार्यालय सल्लीवजारको कार्यालय ,व्यारेक, भवन, मेस, शौचालय तथा स्नान गृह लगाएतका संरचमा निर्माण हुने भनेर सम्झौता भएको थियो ।
भवन निर्माणको जिम्मा लिएका देवसिह निर्माण कम्पनीले पहिले एक वर्ष भित्र भवन निर्माणको काम सक्ने गरि २ महिना काम गरको र अहिले ४ महिना देखि सम्पर्क बिहिन अवस्थामा रहेको डिएसपी खतिवडाले बताए ।
आफु असुरक्षित आवस्थामा भए पनि प्रहरिले नागरिकको सुरक्षा प्रति वफादार भएर काम गरिरहेको इलाका प्रहरि कार्यालय सल्लीवजारका ईन्चार्ज प्रेम बोहराले जानकारी दिए । काम समयमा सम्पन्न नहुँदा विगत वर्ष झैं यसवर्ष पनि वर्षाको समयमा चुहिने जिर्ण अवस्थाको भवनमा बसेर सेवा दिनु पर्ने अवस्थाले दुखी बनाएको उनको भनाइ छ ।
प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार ०७:३०