
सल्यान – ब्याड राख्ने समय हुँदै गर्दा गाउँपालिकाबाट उन्नत जातको तरकारीको विउ पाएपछि सल्यानका किसान खुसि भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका कृषि विकास शाखाले किसानहरुलाई तरकारीको विउ वितरण गरेको हो । वेमौषमी तरकारी खेतीको समय सुरु हुँदै गर्दा अनुदानमा विउ विजन पाएपछि नमुना कृषक समूह कपुरकोट ५ रीमकी तिलसरि वोहोराले खुसि व्यक्त गरिन् । उनले भनिन्, हामीले ५० प्रतिशत अनुदानमा काउली, बन्दा र टमाटरको विउ पाएका छौँ, अव ब्याड राखेर ब्यवशायीक तरकारि खेती गर्ने तयारिमा छौँ । आफ्नो समूहमा १९ जना किसानहरु आवद्ध रहेको जनाउदै उनले ८ रोपनी जमिनमा आफुले तरकारि खेती गर्दै आएको जानकारि दिइन् ।
आफ्नो गाउँपालिकामा सुचिकृत भएका ५२ कृषक समूहहरुलाई किसानको ५० प्रतिशत लागत सहभागीतामा विउ वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । बुधबार विउविजन वितरण गर्दै अध्यक्ष सेनले तरकारी खेतीको पकेट क्षेत्र मानिएको आफ्नो गाउँपालिकाका किसानहरुलाई सक्दो आर्थिक तथा प्रावधिक सहयोग गर्ने उल्लेख गरे । कृषि विकास शाखा प्रमुख टिका राईले सहजिकरण गरेको कार्यक्रममा अध्यक्ष सेनले कृषिमा यान्त्रीकिकरणमा पनि गाउँपालिकाले जोड दिएको बताउदै मिनि टिलर तथा थ्रेसर वितरण जस्ता कार्यक्रम यस वर्ष रहेको जनाए ।
क्यालिफोर्निया वान्डर जातको भेडे खुर्सानी १५० प्याकेट, हिमसोना जातको टमाटर २८० प्याकेट, ग्रिन कोरनेट जातको बन्दा २५० प्याकेट र सिल्भर कप जातको काउली २५० प्याकेट वितरण गरिएको नाप्रास कमला वलीले जानकारि दिइन् । विगतमा सिजन गईसकेपछी विउविजन आउने गरेकोमा स्थानीय सरकारले किसानको मागको आधारमा उचीत समयमा विउविजन उपलब्ध गराएको भन्दै कपुरकोट १ का किसान अनिल घर्तीले किसानको पक्षमा स्थानीय सरकार छ भन्ने महसुस भएको जनाए ।
प्रकाशित मिति: २९ माघ २०७६, बुधबार १३:१३