
सल्यान- सल्यानको एक सामुदायीक वन समूहले महिलाहरुलाई मुढा बनाउने तालिम सञ्चालन गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध २० जना महिलाहरुले मुढा बनाउन सिकिरहेका छन् । वन समूहले एक लाख रुपैयाँ लगानी गरेर एक महिने तालिम सञ्चालन गरेको वन समूहका अध्यक्ष झलक बहादुर बुढाले जानकारी दिएका छन् । गत माघ ११ बाट सुरु भएको तालिम यहि फागुन ११ मा समापन हुने उनले जानकारि दिए ।
आफुहरुलाइ सिलाइ कटाइ तालिम देखि मुढा बनाउने सम्मको सिपमुलक तालीम दिएकोमा आफुहरु असाध्यै खुसी भएको सहभागी एशोधा बुढाथोकीले बताइन् । उनले भनिन्, ‘अरुहरुले तालिम लिन पैसा तिरेर बजार धाउने गर्छन्, तर हामीलाई सामुदायीक वनले नै लगानी गरेर गाउँमै सिप सिकाएको छ, निकै खुसि लागेको छ ।’ आफुहरुले घरको खाना खाएर अन्य घरायसी काम संगै तालिम सिक्न भ्याइएको उनले बताइन् ।
गाउँघरमैै बसेर काखमा बच्चा च्यापेर पनि सीप सिक्न पाएकोमा अर्को सहभागी ओइलि बुढाले पनि खुसि ब्यक्त गरिन् । ६ महिनाको छोरी काखमा च्यापेर मुढा बनाउन सिकिरहेकाी ओईलीले भनिन्, ‘सिप सिकन जरुरी ठानियो, अव सिकेको सिपलाई प्रयोग गरेर मुढा उत्पादन गर्ने र वेचेर पैसा कमाउने सोँच बनाएकी छु ।’
सामुदायीक वनको आम्दानीबाट विकास निर्माण देखी आफ्ना उपभोक्ताको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु सल्लेरी सामुदायीक वनले सञ्चालन गर्दै आइरहेको छ । गत वर्ष पनि कटाई सिलाई सम्बन्धी तालिम सञ्चालन गरिएको वन समूहका सचिव अनिता बुढाथोकिले बताइन् ।
बन जङ्गल संरक्षणका विभिन्न क्रियाकलाप संगै सिपमुलक तालिम सञ्चालन गर्ने सल्लेरी सामुदायिक वन एउटा उदाहरण भएको मुढा बुनाई तालिमका प्रशिक्षक जित बहादुर पुनले बताए । तर उपभोक्ताहरुले सिकेको सिपलाई ब्यवहारमा लागू गरेर आम्दानी बढाउनतर्फ लाग्नुपर्ने अन्यथा तालिमको कुनै अर्थ नरहने उनले बताए ।
प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार १२:०१