
सल्यान – वित्तीय संस्थामा आवद्ध ४२ जना किसानहरुले बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्राप्त गरेका हुन् । मेरो माईक्रोफाइनान्स वित्तिय संस्थामा आवद्ध कपुरकोट गाउँपालिकाका किसानहरुले ब्यवशायीक बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने तालिम प्राप्त गरेका हुन् । मेरो माईक्रोफाइनान्सको कपुरकोट शाखाले व्यवशायीक तरकारी खेती तर्फ उत्सुक आफ्ना ग्राहक सदस्यहरुलाई मंगलबार र बुधबार तालिम प्रदान गरेको शाखा प्रवन्धक रमेश कुमार संग्रौलाले जानकारी दिए ।
आधुनिक प्रबिधि प्रयोग गर्दै थोरै जमीन र लगानीमा धेरै उत्पादन गर्ने तरीकाहरु सहभागीले सिकेको उनले बताए । सहजकर्ता राजन भण्डारीले सहभागीहरुलाई तरकारीको ब्याड तयार पार्ने तरिका देखी तरकारी खेतीमा लाग्ने रोग, किरा, तरकारीको स्याहार तथा बजारीकरण सम्बन्धी जानकारि प्रदान गरेका थिए । परम्परागत निर्बाहमुखी तरकारी खेतीलाई बिस्तापीत गर्दै आधुनिक व्यवसायीक कृषी खेतीमा आकर्षीत गराउने र आफ्ना सदस्यहरुको आर्थिक स्तर माथी उठाउने उद्देश्यले तालिम प्रदान गरिएको मेरो माईक्रोफाइनान्स वित्तिय संस्थाले जनाएको छ ।
वित्तिय संस्थाद्वारा गठन गरिएका समुहमा आवद्ध किसानहरुले पछिल्लो समय वचत गर्दै र वित्तिय संस्थाबाट ऋण लिएर तरकारी खेती तथा बाख्रापालन व्यवशाय गर्दै आइरहेको जनाएको छ । कपुरकोट शाखा अन्तर्गत ६२ वटा समूहहरु रहेको र जसमा ८ सय ५५ जना सदस्यहरु रहेको मेरो माईक्रोफाइनान्सले जनाएको छ । सदस्यहरुलाई वित्तिय साक्षरता तालिम देखी विभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेको कपुरकोट शाखाका कनिष्ट सहायक विष्णु बहादुर शाहीले जानकारि दिए ।
प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहीबार ११:०४