कर्णाली प्रवेश गर्ने मुख्य नाका कपुरकोटमा कडाई हुने, साताको तीन दिन मात्रै खाद्यान्न पसल खुल्ने

सल्यान- कर्णाली प्रवेश गर्ने मुख्य नाका सल्यानको कपुरकोटमा लकडाउनाई थप कडाई गरिने भएको छ । सोमबार विहान जनप्रतिनिधी, सुरक्षाकर्मी र ब्यापारी, व्यवशायीहरुले लकडाउनलाई कार्यान्वयन गर्दै लैजाने र हप्ताको ३ दिन मात्रै खाद्यान्न पसलहरु संचालन गर्ने निर्णय गरेका हुन् ।

आईतबार, मंगलबार र शुक्रबारका दिन विहान एक घण्टा मात्रै खाद्यान्न तथा किराना पसल संचालन गर्ने निर्णय भएको उद्योगा वाणिज्य संघ सल्यानका सदस्य कमल घर्तीले जानकारि दिए । हप्ताको ३ दिन विहान ७ बजेदेखी ८ बजे सम्म एक घण्टाको लागि मात्रै पसल सञ्चालन हुने छन् । यस्तै डेरी हरेक दिन विहान ७ देखि ८ बजे सम्म र बेलुकी ५ देखी ६ बजे सम्म तथा तरकारि पसल हरेक दिन वेलुकी ५ देखी ६ बजे सम्म मात्रै संचालन हुने भएको घर्तीले जनाए ।

हरेक पसलले आफ्नो पसल अगाडी साबुन पानीले हात धुने ब्यवस्था गर्ने, सामग्री विक्रि गर्दा निश्चित दुरी कायम गराउने विषयमा पनि छलफल तथा निर्णय भएको बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले जनाएका छन् । पछिल्लो समय बजार क्षेत्रमा चोरीका घटनाहरु पनि भएको भन्दै उच्च सतर्कता अपनाउने निर्णय भएको उनले जनाए ।

छलफलमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दत्त बहादुर मल्ल लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार १८:१८