समाजसेवी चन्दले वडावासि सबैलाई मास्क र गापालाई स्वास्थ्य सामग्रि प्रदान गरे

प्रचण्ड खत्री
रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–१० मा एक समाजसेवीले एक हजार ८ सय मास्क वितरण गरेका छन् । स्थानीय हरि चन्दले वडाका सबै वासिन्दालाई पुग्ने गरि मास्क वितरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणको रोकथाम र स्वास्थ्य सुरक्षाका लागि भन्दै वडाभरका वासिन्दालाई हरिले मास्क वितरण गरेको वडाध्यक्ष अर्जुन चन्दले बताए । पहिलो चरणमा एक हजार ३ सय र दोस्रो चरणमा ५ सय मास्क वडा कार्यालय मार्फत वितरण गरिएको उनले बताए ।

काठमाडौंबाट मास्क किनेर पठाइदिएपछि वडा कार्यालय मार्फत वितरण गरिएको चन्दले बताए । मास्क वितरण गर्ने हरिले बाँफिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री पनि सहयोग गरेका छन् । उनले ७२ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखाका अहेब सुनिल केसीका अनुसार चन्दले ४ वटा इन्फ्रारेड थर्मोमिटर र ३० थान एन ९५ मास्क सहयोग गरेका हुन् । मंगलबार गाउँपालिकामा सांसद जनार्दन शर्मा मार्फत तीन वटा इन्फ्रारेड थर्मो्मिटर प्राप्त भएको थियो । गाउँपालिकाका १० वटै वडा स्वास्थ्य संस्था तथा गाउँपालिका प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापना गरि चेकजाँच कार्य चलिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार २०:३१