वडामा राहत कोष, वडाध्यक्षको एक महिनाको सेवा सुविधा कोषमा

इन्द्र बुढाथोकी
सल्यान – सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १२ मा विपद् ब्यबस्थापन राहत कोषखडा गरिएको छ । वडा अध्यक्ष गोविन्द डांगीको नेतृत्वमा विपद् जोखिम न्युनिकरणका लागि राहत रकम जम्मा हुने गरी कोष खडा गरिएको हो । अहिले राहत संकलन गर्ने कार्य चलिरहेको छ । कोषबाट उठेको र संकलन भएको रकमबाट छिट्टै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष डाँगीले बताए । नगरपालिका कन्छा र विकट वडाका अध्यक्ष समेत रहेका उनले आफ्नो एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने र अन्य सदस्यहरुले पनि आफ्नो सक्दो सहयोग राहत कोषमा जम्मा गर्ने बताए ।

यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुध्न वडा अध्यक्षको संयोजकत्वमा विपद ब्यबस्थापन समिति समेत गठन गरिएको छ । निगालचुलाका टोलटोलमा विपद ब्यबस्थापन समिती गठन गरिने पनि अध्यक्ष डाँगीले जानकारी दिए । राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहत कोषमा हाल सम्म ५७ हजार रुपैँया संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागी आम वडावासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका बिभिन्न वडाहरुमा पनि बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार २१:१०