सल्यानकाे कपुरकाेटमा तीस बर्ष देखि खारा पहिरोको सन्त्रास, भाँसिएकै ठाउँमा व्यापार चलाउन बाध्य

रमेश कुमार वली ।मिना बुढाथाेकी
सल्यान।

 कपुरकोट गाउँपालिका ३ मा सडक भासिएर करिब ६ मिटर तल पुगेको छ । बजारकै छेउमा रहेका घरहरु जमिन भासिएकै कारण ढल्केका छन् त्यहि ढल्केको घरहरुमा करिव ६ बर्ष अघिदेखि सन्त्रासमै व्यवसाय सञ्चालन गर्दैै आइरहेका छन् । कपुरकोट गाउँपालिका ३ मा रहेको खारा पहिरोले यहाँका करिव १ सय भन्दा बढि घरधुरीहरु पहिरोको पिरमा पिरोलिइरहेको बर्षौ वितेको छ उनिहिरुले यो ठाँउ छोडेर न त कतै अन्त जान सके न राज्यले कुनै वैकल्पिक व्यवस्थापको लागि पहल गरेको छ ।

पहिरोले यहाँकै विद्यालय समेत भासिएपछि विद्यालयलाई स्थान्तरण गरिएको छ भने भासिएको करिव १ किलोमिटर सडकको हाल भने अहिले सम्म उस्तै रहेको छ । पहिरो रोकथामका लागि ३० बर्ष पहिलेदेखि सानोतिनो कार्य गरिरहेको भएपनि प्रयाप्त नहुदा पहिरो रोकिने त कुरै भएन त्यहि बनाउन लागेका संरचनाहरु समेत बर्षेनी वगाउदै लगेको छ । खारा पहिरोमा बर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले भन्नुभयाे ।

“पहिरो रोकथामका लागि सानातिना प्रयास भइरहेका छन् तर पनि त्यो प्रयासले पहिरो रोकिने छाँटकाँट देखिदैन एकातिर बनाउछौ अर्कोतिर बगाउछ, यहि लुकामारीले पहिरो थामिने अवस्था छैन, अध्यक्ष बुढाले भन्नुभयाे । जमिन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमाहानगर पालिकाको पातुखोला क्षेत्रमा ठुलो धनजनको क्षति हुने सम्भावना रहेको अध्यक्ष बुढाको भनाई छ ।

अहिले सम्म पहिरो रोकथामका लागि ३ करोड ८० लाख रुपैया खर्च भइसक्दा पनि पहिलो रोकिने छाँटकाट छैन पहिरोकै कारण खेतियोग्य जमिन समेत भासिएपछि स्थानीयहरु चिन्तित भएको स्थानीय तिलक बहादुर सेन ठकुरीले बताउनुभयाे “२०५२ साल देखि पहिरोको रोकथामका लागि प्रयास गरेका हौ, यहाँको माटो नुनिलो भएकाले जाली छिटै गल्ने भएकोले रोकथाममा समस्या भएको छ”। पहिरोको रोकथाममा लाग्नु भन्दा पनि अव राज्यले जोखिममा रहेको वस्तीलाई अन्यत्रै स्थान्तरण गरेमा पहिरोको सन्त्रास नहुने तिलकको भनाई छ ।


जिल्लामै कपुरकोट क्षेत्रमा बढि पानी पर्ने भएकोले पनि पहिरोको त्रास वढि भएको स्थानीय पुर्ण बहादुर वलीले भन्नुभयाे “ठुलो पानी परेको दिन रातभरी निन्द्रा लाग्दैन दिउसो त भागेर वाँचिएला जस्तो लाग्छ तर रातीमा पहिरो गए बालवच्चा लिएर काता जानु” ।
कपुरकोटको खारा पहिरोमा संघिय राज्य समेत जानकार भएकोले यसका बारेमा राज्यले नै सोच्नु पर्ने अवस्था आएको कपुरकोट गाउँपालिका ३ का वडाध्यक्ष मिन बहादुर सेनले बताउनुभयाे । “कपुरकोट बजारमै हेर्नुस जमिन ७ मिटर तल भासिएको छ कति जोखिम छ भन्ने कुरा यहाँहरुले नै देख्नुभएको छ” वडाध्यक्ष सेनले भन्नुभयाे ।
गाउँपालिकाले पहिरोका कारण भत्किएका घरहरुमा नवस्न पटक पटक सार्वजनिक सूचना जारी गरेपनि स्थानीयहरुले नमानेको सेनको भनाई छ । “हामीले धेरैपटक उहाँहरुलाई जोखिमपुर्ण घरहरुमा नवस्न सूचना जारी गरेका छौ तर यसका लागि उहाँहरुले मान्नुभएन ,”वडाध्यक्ष सेनले भन्नुभयाे ।
अव पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि यहाँका पिडित परिवारहरुलाई स्थान्तरणको योजना बनाउन आवश्यक भएको वडाध्यक्ष सेनको भनाई छ । “यहि सडकबाट धेरैपटक राज्यका जिम्मेवार व्यक्तिहरु ओहोरदोहोर गरिरहेका छन् तर बजार नै भासिदा पनि ध्यान जान सकेको छैन पहिरो गएमा यहाँ ठुलो धनजनको क्षति हुने अवस्था छ ” वडाध्यक्ष सेनले भन्नुभयाे ।
खारा पहिरोममा नै जग्गा र घर भएकाहरु बढि प्रभावित भइरहेका छन् । जमिनमा ठुला ठुला चिरा परेकोले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयहरुलाई सन्त्रास बनाउदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भएपनि ढुक्क भएर वस्न सक्ने अवस्था नभएको स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलवार ०७:२७