६१ विपन्न परिवारलाई त्रिवेणी गाउँपालिकाद्वारा सोलार सेट वितरण

सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरेको गाउँपािलका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयाे।

सोलार पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको गाउँपालिका उहाँले बताउनुभयाे। उज्यालो गाउँपालिका कार्यक्रम अन्र्तगत विद्युत नपुगेका र अति विपन्न घरपरिवार पहिचान गरी सोलार वितरण गरिएको उहाँको भनाई छ ।

तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताको सोलार बाँडिएको छ । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको अध्यक्ष डाँगीको भनाइ छ ।

उहाँले वडा न १ मा ११ घरधुरी र बाँकी पाँच वडामा १०।१० घरधुरीका हिसाबले सोलार वितरण गरिएको  बताउनुभयाे ।
वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवन यापनमा सहज हुने गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताउनुभयाे।

अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको उहाँको भनाई छ ।सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ । गाउँपालिकामा अझै विपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार २२:३४