
सल्यान- गत शनिबार देखी मास्क नलगाएर घर वाहिर निस्कनेलाई कारवाही थालेको जिल्ला प्रहरी कार्यालय सल्यानले मंगलबार सम्म ३ सय ४५ जनालाई कारवाही गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोभिड १९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने सिलसिलामा मास्क नलगाई घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम ३ सय ४५ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एक सय रुपैयाँको दरले जरिवाना पति तिराइको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार मात्रै ३९ जना मास्क नलगाउने ब्यक्तिहरु कारवाहीमा परेका छन् । कपुरकोट बजारमा १८ जना, श्रीनगरमा ९ जना तथा लुहाम र खलंगाबाट ६÷६ जनालाई कारवाही गरेर जरिवाना तिराइएको हो । हाल सम्म मास्क नलगाएर घर वाहिर निस्कनलेहरुलाई कारवाही गर्दा ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मास्क नलगाई घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम रु एक सय जरिवाना गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम जिल्ला प्रहरी कार्यालय सल्यानले सो सम्बन्धमा सल्यानका आम नागरीकलाई सुसुचित गर्न सामुदायिक रेडियो, अनलाईन पत्रिका तथा बजार चोक र बाक्लो बस्ति भएका स्थानमा साउण्ड सिस्टम मार्फत प्रचार प्रसार गरेको थियो ।
प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १७:३२