विएस्सी पास युवाको कृषि कर्मः जसले शुरु गरे गाउँमै फर्केर भव्य कृषि फर्म

प्रचण्ड खत्री ,रुकुम पश्चिम ।

धेरै पढेर जागिर खाने सोच र चाहना धेरैको हुन्छ । तर कसैको चाहाना पुरा हुन्छ कसैको टुटेर जान्छ अनि सयौ युवाहरु आफ्नो सोच बदलेर शहर तिर झर्छन ।त्यसमा पनि कोही सोच पुरा गरेर गाउ जिल्ला फर्कन्छन भने कोहि युबा रोजगारको सिलसिलामा खाडी मुलुक पुग्छन ।

तर कतिपय युवाहरुको सोच यस्तो हुन्छ जसले पढेर गाउँमै केहि इलमपात गरौँ र आर्थिक उपार्जन संँगै गाउँको विकासमा होमिन्छन् । यस्तैे मध्येका १ हुन रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने निवासी २६ वर्षीय राजकुमार केसी ।

केसीले बिएस्सी पास गर्नुभएको छ । विएस्सी सम्मको अध्ययन सकेपछि केसी गाउँमै व्यवसायिक कृषि कर्ममा रमाउनुभएको छ । केसीले कृषि पेसामा लागेर राम्रो आम्दानि गर्नुभएको छ भने आफुलाइ जिवनमा सोचे अनुसारको सन्तुष्टि मिलेको बताउनुभएको छ ।

०७५मा काठमाडौंबाट बिएस्सी पास गरि गाउँ फर्केपछि केहि गर्नुपर्छ भन्ने उद्देश्यले कृषि पेसा अपनाएको उहाँले बताउनुभयो ।२५ लाखको लगानीबाट व्यवसाय सुरु गरेका केसीले शुरुमा माछा, बंगुर र ब्रोइलर पालनबाट ब्यबसाय शुरु गर्नुभएको थियो । शुरुमा नेपालगन्जबाट २३ वटा बंगुर, ५ सय वटा ब्रोईलर र ३५ हजार माछाका भुराबाट ब्यबसाय सुरु गरेको केसीले बताउनुभयो । अहिले उहाँ जिल्लाकै अव्वल किसानको रुपमा पहिचान बनाउनुभएको छ ।


७ रोपनी जग्गामा फैलिएको उहाँको व्यवसायमा उहाँले जग्गा र खोर निर्माणमा मात्रै २१ लाख खर्च गर्नुभएको छ । जग्गा खरिदमा ४ लाख, खोर तथा पोखरी निर्माणमा १५ लाख गरी पुर्वाधारमा मात्रैै २१ लाख खर्च गरिएको केसीले बताउनुभयो । केसीले अहिले आफुले ४ जनालाई रोजगारी समेत दिएको बताउनुभयो । अहिले फर्मबाट मासिक ५ लाखको कारोबार हुने गरेको केसीले बताउनुभयो ।

अहिले सम्म के सीले कुनै पनि प्रकारको अनुदान नपाएको बताउनुभयो । अहिले सम्म जति खर्च लागेको छ सबै आफैले खर्च टार्दै आएको छु उहाँले भन्नुभयो संघ सरकार होस, प्रदेश सरकार होस , स्थानीय सरकार होस या वडा कार्यालय कतैबाट पनि १ रुपैया अनुदान आएको छैन । सबै खर्च कटाएर वार्षिक २० लाख अाम्दानी हुने गरेकाे उहाँले बताउनु भयाे ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहीबार ०८:१५