
रोल्पा – रोल्पाको रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरिएको छ । अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्सातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो । यस वर्ष पिलर तथा सरिया बिछ्याएर ढलानसहित हेलिप्याड निर्माण गरिएको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए । सो हेलिप्याडका लागि यस वर्ष २० लाख थपिएको छ । यस वर्ष थपिएको बजेटले हेलिप्याड निर्माणका साथै वरपरका संरचना पनि निर्माण भएको केसीले बताए ।
रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिए । अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने उनको भनाई छ ।
बर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने अधिकारकर्मी श्रीकुमारी रोकाले बताइन् ।
प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १५:१७