गाउँपालिकाका लेखापाल र लेखा सहायकमाथी कुटपिट, संलग्नलाई खोज्दै प्रहरी

रुकुम पश्चिम – रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथि हातपात भएको छ । उनीहरुमाथी गाउँपालिकाको बजेट अनियमितता गरेको आरोप छ । सदरमुकाम मुसिकोटमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल बैंकबाट काम सकेर फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको लामाखेत भन्ने ठाउँमा आफूहरुमाथि हातपात भएको लेखापाल हेमन्त प्रकाश के.सी ले बताएका छन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरुले कुटपिट गरेर भागेको उनले बताएका छन् । रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै गरेका लेखापाल र लेखा सहायक सुवाश केसी लाई मोटरसाइकल रोक्न लगाएर उनीहरुले कुटपिट गरेका थिए ।

मोटरसाइकलबाट झारेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेको लेखापालका आफन्तले बताएका छन् । दुवैजनालाई ज्यान लिने र घर जलाइदिने धम्की समेत उनीहरुले दिएको बताइएको छ । आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाइकल छोडेर भागेर ज्यान जोगाएको बताएका छन् । घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि गाउँपालिकाको बजेट आफ्नो, आफ्नो श्रीमती र भतिजाको खातामा हालेपछि विवादमा आएका लेखापाल र लेखा सहायक लाई स्थानीय युवाले हातपात गरेका हुन् ।

आर्थिक वर्ष ०७६।०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के.सी.ले सिम्रुतुमा रहेको लक्ष्मी बैंकमा आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । पछि गाउँपालिकाले छानबीन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए । घटनाको जिल्ला प्रशासनले छानबीन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार ११:००