बर्दिया राष्ट्रिय निकुञ्जमा अवैध काम गर्ने २० जना पक्राउ

बर्दिया – भदौ महीनामा मात्र बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न स्थानमा अवैध काम गर्ने २० जना पक्राउ परेका छन्। निकुञ्ज कार्यालयका अनुसार १ देखि २८ भदौसम्म निकुञ्जमा प्रवेश गरी काठ कटान तथा अवैध सिकार गर्ने काममा संलग्न भएकाहरूलाई निकुञ्जको नियमित गस्ती टोलीले पक्राउ गरेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार पक्राउ परेकाहरूलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। सबैभन्दा धेरै पक्राउ पर्नेहरू अवैध रूपमा काठ चोरीमा संलग्नहरु छन्। उनीहरूको साथबाट २४० क्युफिट काठ बरामद गरिएको छ।

निकुञ्ज कार्यालयले ९ भदौमा बाँसगढी नगरपालिका-१ भंगास्थित् मध्यवर्ती वनमा ७१ क्यू फिट सालको काठसहित दुई जनालाई पक्राउ गरेको थियो। यो नै एक ठाउँमा बरामद गरिएको सबैभन्दा ठूलो परिमाणको सालको काठ हो।

त्यसबाहेक १८ भदौमा ठाकुरबाबा नगरपालिका-२ अम्बासाबाट अवैध काठ चोरिनिकासी गर्ने ४ जना पक्राउ गरी उनीहरूको साथबाट ६० क्यूफिट परिमाणको साल, साज, सादन जातको काठ र आरा बरामद गरिएको थियो।

निकुञ्ज कार्यालयले अवैध चोरी शिकारीमा संलग्नलाई पनि पक्राउ गरेको छ। ९ भदौमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मधुवन नगरपालिका-१ डल्लाबाट चित्तलको चोरीशिकार गरेको कसुरमा मृत चित्तलसहित एक जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।

कोरोना भाइरसको संक्रमणका कारण विभिन्न क्षेत्रबाट मानिस घरमा फर्केको र पेशा व्यवसाय बन्द भएपछि निकुञ्ज तथा वन जंगलमा प्रवेश गर्ने काम बढेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।

प्रकाशित मिति: ४ आश्विन २०७७, आईतवार १३:५२