
सल्यान- स्थानीयस्तरमै रोजगारी श्रृजना गर्नका लागि सल्यानको कालीमाटी गाउँपालिकाले बजेट केन्द्रीति गरेको छ । कोभिड–१९ को कारण बैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएकाहरुलाई सम्बोधन गर्नका लागि रोजगारमैत्री बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जनाएका छन् ।
‘गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम’, ‘सडक मर्मतसम्भार कार्यक्रम’, ‘दलित तथा विपन्न संग अध्यक्ष कार्यक्रम’, ‘एक वडा एक उत्पादन कार्यक्रम’, ‘बाख्रापालन पकेट क्षेत्र कार्यक्रम’ जस्ता योजना र कार्यक्रम कालिमाटी गाउँपालिकामा यस वर्ष सञ्चालन हुँदैछन् । सार्वजनीक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा गाउँपालिकावासीले रोजगारी पाउन सकुन् भनेर बजेट केन्द्रीत गरिएको अध्यक्ष केसीले जनाए ।
गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड ३० लाख रुपैयाँ बजेट यस वर्ष खर्च हुँदैछ । जसमा भौतिक पूर्वाधार निर्माण कार्यमा स्थानीयले रोजगारी पाउने छन् । अध्यक्ष केसीले भने, ‘हामीले ५ लाख भन्दा कमका कुनै पनि योजना बनाउने छैनौँ, यो कार्यक्रमका लागि कार्यविधि पनि तयार भइसकेको छ । हामी गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमबाट गाउँपालिकावासी नागरिकहरुलाई रोजगारि दिने गरि अघि बढेका छौँ ।’
‘सडक मर्मतसम्भार कार्यक्रम’ का लागि मात्रै ५० लाख रुपैयाँ कालिमाटीले विनियोजन गरेको छ । यस्तै खरको छाना विस्तापित गर्ने उद्देश्यले ‘दलित तथा विपन्न संग अध्यक्ष कार्यक्रम’, गाउँपालिकाले कार्यान्वयन गर्दै छ भने ‘एक वडा एक उत्पादन कार्यक्रम’ का लागि ९० लाख रुपैयाँ खर्च हुँदै छ । कृषि क्षेत्रमा उत्पादनमुखी अनुदान प्रदान गरिने गाउँपालिकाले जनाएको छ । संघ तथा प्रदेश सरकारसंगको सहकार्य, साझेदारीमिा पनि विभिन्न महत्वपूर्ण योजनाहरु यस वर्ष सञ्चालनको क्रममा रहेको अध्यक्ष केसीले जानकारि दिए । उनका अनुसार बाख्रापालन पकेट क्षेत्रका लागि अनुदान उपलब्ध गराइने छ ।
प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलवार १०:२७