
काठमाडौं ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुल्ला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुल्ला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिनुभएकाे छ । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।
भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेको छ ।
प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार १४:४३